भावशवल : (विरहिणीका मनको तरङ्ग) / श्यामजीप्रसाद शर्मा अर्याल
चाँडै नै फिरुँला अवश्य म भनी जानूभयेथ्यो पति
पत्ता छैन अझै पनी घरतरफ् फिर्ने नफिर्ने रति ।
लेखें पत्र झिकाउने कति कती पाउन्न हा उत्तर
माया मार्नुभयेछ कि भनि सखी लाग्दो छ सारै पिर ।।१।।
धेरै काल वितीशक्यो अझ पनी फिर्दै नफिर्ने यहाँ
यस्तो हुन्छ भनेर मालुम भये दिन्थे विदा पो कहाँ
सार्है नै विरही भयें निठुरले छाडीदिनाले गरी ।
यस्ता यौवनमा पनी पतिविना बस्छू चखेवीसरी ।।२।।
कस्तो प्रेम थियो अघी सँग हुँदा ऐले बिरानू हुने
संझी निर्दयि पापिलाइ संगिनी यो चित्त सार्है रुने ।
विर्सूँ विर्सनलाइ शक्तिन म ता कस्तै गरे तापनी
के गर्नू तर बिर्सिये निठुरले सार्है अधर्मी बनी ।।३।।
चिन्ताले गरि चन्द्र-तुल्य मुख यो अत्यन्त फुस्रो भयो
चढ्दो यौवन जङ्गली फुलसरी वेकामको भैगयो ।
आँखा लाल भये सधैंभरि रुँदा लट्टा परे केशमा
पापी निर्दयि ! छाडि एकलि यहाँ घुम्ने हरे देशमा ।।४।।
उडयो कान्ति कपूर झैं वदनको, बोली पनी बन्द भो
काँप्यो देह, मुटू फुटयो, मन उडयो, आशा पनी मन्द भो ।
पाऊ विघ्न गले, जिऊ शुकिशक्यो, पैर्हा चल्यो चित्तमा,
राखूँ प्राण कसोरि हाय ! सँगिनी प्राणेशका निम्तिमा ।।५।।
प्यारो शीतल चाँदनी सकलमा आनन्द दीने पनी
लाग्यो विघ्न मलाइ पोल्न अहिले आगासरीको बनी ।
भाला झैं भइ घोच्दछन् यि फुलका गुच्छाहरु माथमा
केले शान्त गराउँ यो दिल हरे ! साह्रै परें तापमा ।।६।।
वाला बाजु, चुरा छुरासरि बने, पोशाक सारा पनी
लागे काटन हाय ! देह अहिले तर्बार जस्ता बनी ।
हावा शीतल मन्द वज्रसरि भै वज्रन्छ सर्वाङ्गमा
खेपी दर्द असह्य ! हाय सँगिनी बस्छू म एकान्तमा ।।७।।
बेला गो सुखको, उदास मन भो, सन्ताप ज्यादा बढयो,
आशा दर्शनको टुटयो विरहले गर्दा कलेजा डढयो ।
सार्है कष्ट पर्यो सही नशकनू खल्खल् पसीना बह्यो !
पाई दुख अनेक हाय ! अहिले यो प्राण बाँकी रह्यो ।।८।।
लागे कोमल पुष्प हा ! हृदयमा काँटा सरी घोचन
थाले चन्दन कस्तुरीहरु सबै तेजाब झैं पोलन ।
गुक्ताहार करौंती झैं भइ सदा लाग्यो गला रेटन
बाँकी धुकधुकि मात्र यो छ, मुख त्यो पाउन्न की देखन ।।९।।
अधा भो सँगिनी जिऊ विरहले बाधा गरी बेसरी
लागे बर्मन नेत्रदेखि जलका धारा झरी झै गरी !
कत्ती होश हवास छैन अहिले भो चित्त यो विह्रल,
जाऊ हाय कहाँ ! गरुँ अब कसो ! सार्है भयें व्याकुल ।।१०।।
चम्पा, बेलि जिऊ जलाउन भनी लागीरहेछन् ममा
देखी पुष्प अशोक शोक बहुतै बढ्दो छ यो चित्तमा ।
फूल्यो पापि पलाँश नाश गरनै आँटयो मलाई अब
लागे एक अभागिनीउपरमा हा दैव ! ऐले सब ।।११।।
कैल्हे दर्शन पाउँला भनि सदा आत्तिन्छ मेरो मन
संझन्छू म हजारपल्ट दिनको पापिष्ठ स्वामीकन ।
फिक्री विघ्न बढयो, अधीर मन भो, अफ्सोस ज्यादा पर्यो,
पापी निर्दयि दैवले म अवलामाथी नगर्नू गर्यो ।।१२।।
खासा पुष्प फलङ्गतीक्ष्ण शरको शय्यासरी यो घरी
लाग्यो घोच्न हरे ! शरीरभरमा वाधा बहूतै गरी ।
बोली काइलिका गडे हृदयमा भै वाण जस्ता तिखा ।
लाग्यो निस्कन देहदेखि अहिले तापाग्निको दुःशिखा ।।१३।।
गानाको पनि छैन सौख रत्तिभर् प्यारा नहूँदामहाँ ।
खानातर्फ पनी हटयो मन सखी ! संझन्छु खाली यहाँ ।
ताना चल्छ अनेक, उठ्छ भमरी, चानासरी भो जिऊ
नाना कष्ट सहेर धैर्य मनमा मैले कसोरी लिऊँ ।।१४।।
प्यारो सुन्दर वाग पुष्प फलले आनन्द दीने अति
देख्छू आज म घोर जङ्गलसरी देखिन्न शोभा रति ।
थीये अमृततुल्य जुन् चिज अघी ऐले भये ती विष
बाचूँ हाय म के गरी ! अब सखी ! लीये सबैले रिस ।।१५।।
लागे फर्कन स्वामि हेर सबका संझेर कान्ताकन
मेरै मात्र नफर्कने अझ पनी कस्तो कडा त्यो मन ।
बाटो हेर्दछु तैपनी म त सदा आये कि प्यारा भनी
पत्तै छैन कतै पनी निठुरको हा ! गो यसै जीवनी ।।१६।।
कत्ती छैन मलाइ चैन अहिले देख्छु अँध्यारो जगत्
संझन्छू म पला पला घडिघडी त्यै दिव्य मूर्ती फगत् ।
सोला चल्दछ पेटमा प्रिय सखी ! प्राणै लिने सुर् गरी
बस्छ आज अकेलि शून्य घरमा भारी सकसमा परी ।।१७।।
मेरा खातिर जो थिए अघिअघी आनन्ददायी बडा
ती सारा सखि हेर कालसरि भै ऐले तहाँ छन् खडा ।
कस्तो युक्ति गरी बचाउँ अहिले यो प्राण गई यहाँ
आटें हाय ! म बेपत्ता हुन सखी ! प्यारा कहाँ छन् कहाँ ।।
रात्री कल्पसमान लाग्छ अहिले पर्दैन निद्रा रती
खाली खटपटिनू छ फालि कपडा संझेर कल्पी अनि ।
छोपूँ दर्द नछोपिने भनुँ भने सुन्दैन कोही पनी
खाई चाट वियोगको प्रिय सखी ! बस्छू म दुखी बनी ।।१९।।
बोलूँ बोलन शक्ति छैन अहिले लेटूँ भने क्यै घडी
खाली देखि पलङ्ग झन् पिरमहाँ पर्छू बहूतै गरी ।
हेर्ने लायक छैन क्यै चिज पनी हेरुँ भने प्रेमले
केले दर्द हटाउँ ? हाय मउपर् सार्है गर्यो दैवले ।।२०।।
यस्ता पूर्ण उमेरमा अलग भै पर्नूपर्यो पीरमा
को हेला मसमान दुःखि अहिले संसारका वीचमा ? ।
टाढा भै रहनूपर्यो दिन गनी संझी सधैं झल्झल
कस्तो पाप गरेछु हाय ! सँगिनी ! कुन् पापको ये फल ।।२१।।
खेपें खेपनुसम्म कष्ट बहुतै, राखें बुझाई मन,
काटें काल कडा, सहें सहनुतक् आपत्तका दुर्दिन,
सार्है भो अब ता शकिन्न सहनै आशा हरायो सब
आयो प्राण पनी गलातक सखी ! पक्का म मर्छु अब ।।२२।।
प्यारा प्राणसमान नाथ नहुँदा देख्छू म फिक्का सब
आशा दर्शनको भर्यो विष लिई खाये पनी भो अब ।
आजेसम्म रहेछ भोग सकियेजस्तो बुझें यो घडी
शम्भो ! राख कृपा अनाथ अबला सार्है विपतमा परी ।।
इति
(*सूक्तिसिन्धु (फेरि), जगदम्बा प्रकाशन, २०२४)