भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भित्रभित्र सागर बग्छ / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गहभरी बालुवाका थोपाहरू जमाएर
ढुङ्गाको शीत पर्वत पर्वत खस्छु
र जङ्गल-जङ्गल डुलिहिँड्छु निरिह बतास !

शहरको उज्यालोले नदेखेको
अँध्यारा गाउँहरू लाल्टिन बालेर हिँड्छु !

रातका विरह गीतहरू छातिमा टाँसेर
दूर बस्तिका यायावरहरू जसै जान्छन्
सुदूर नदी तरेर अर्कै देश
तब
तिनको पाइतालाले टेकेर विरानो भएको आँगनमा
थचक्क बसेर कल्पन्छु
के म फेरि फर्कन्छु ?
उडेको धुवाँले बिर्सेको दिशामा
म रोकिन्छु
आइरहेको कुनै चट्टानी आवेगले घाईते हुन्छु !

कतै दुर्घटित नभई
गइरहेको तुफान सकुशल फर्कोस्
कहिल्यै नफर्केकाहरू फर्कोस् कामना गर्छु !

एक वृद्ध अन्धो ईन्द्रेणी रङ खोज्छ
विस्वास गर्छ
ताते ताते हिँडेको छोरा सुन्दर चित्र भएर फर्कनेछ !

म व्यथित आमाको आँशुको सम्झना बन्छु
भिजेको रुमाल बन्छु !
काग कराएको एक बिहान
घुर्मैलो समयले एउटा अशुभ खबर ल्याउँछ ।

म तरुनी विधवा सिंउँदो पखालिन्छु
म अबोध बालक अनायास आत्तिन्छु ।

आँखाबाट आँशु बग्छ
आँखै बगाउँनेगरी आँशु बग्छ !

सम्झना बग्छ
संवेदना बग्छ
माया / पिरति
हृदयको झङ्कार बग्छ
बग्छ सबै सबै बग्छ
जब जिन्दगीमा
भित्रभित्र सागर बग्छ !


०००