भुइँ कुहिरो / विष्णु न्यौपाने
१.
फुस्स निस्किएर भुइँकुहिरो
गल्र्याम्म अँगालो हाल्छ मेरो पहाडलाई
ओठ चुम्छ, शरीर सुम्सुम्याउँछ
र शीत जस्तै चिसा स्पर्महरू स्खलित गरेर
विलाउँछ कतै
गर्भिणी बनाएर मेरो पहाडलाई,
फेरि जन्मने शिशु भुइँकुहिरोको आसमा ।
२.
तर ,
मेरो देशलाई अँगालोमा गाँजेको कुहिरो
ऐठन भएर देश खटपटिँदा पनि
पानी पानी भनेर छटपटिँदा पनि
घाँटी अँठ्याएर कोर्राहरू बर्षाइरहन्छ ।
तराइको पुसे हुस्सु जस्तो
टाउकोमा हुस्सु बोकेको दानवीय झुण्ड झुण्ड कुहिरो
पालो फेरो देश चुसिरहन्छ
बिना जिम्मेवार, विना अधिकार
दासताको घोर निशा भित्र धकेलिरहन्छ
मेरो देशको दुरुहता अझै नङग्याउने परिवेशमा ।
३.
ती मान्छे खाने काला बादलहरू,
हटाए कसरी छिमेकीहरूले देश कँज्याउने हुस्सुहरू ?
फँणा फिँजाएका गोमनहरू
पन्साए कसरी तुसारो र हिउँका ओछ्यानहरू ?
मूल फुटाएर पनि अलौकिक विकासको
घोटिइरहेछन् खोज्न अझै अनन्त दृष्टि ।
तर
मस्तिष्कमा अहङ्कारको मजेत्रो ओढेर
मेरो देशको गरिमा स्खलित गरिरहेछ हुस्सु
सन्तानका भविष्यको चिहान मात्र बनाउने आसमा ।