भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भूगोल र चिसो साँझ / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


मैले—
रातको सुरूवातसँगै
आँगनभरिभरि
विश्वासको फूल रोपेकी छु
आकाश ओढेर बाँच्न विवश
एक हूल मान्छेहरु
कवितामा —
आगोको गीत लेखिरहेछन्
म,
लामो समयदेखि
सडक हेरेर हाँसिरहेछु
सडक ओढेर बाँचिरहेछु
बुटका छापहरु
छातीभरिभरि खोपेर
हाँसिरहेछ सडक
सम्भावनाको अलिकति न्यानो ओढेर

मायाका अध्यायहरु
कसरी सूल भएर उभिएछ ?
मनको इजलासमा
साँच्चै—
तिमीसँगको वियोगपछि पनि
सडकजस्तै—
मुटुभरिभरि
संस्मरणको न्यानो विश्वास ओढेर
तिम्रै बाटो पर्खिरहेछु

हिउँको चिसो अझ चिसो साँझमा
क्रान्तिको उद्घोष गर्दै
हामीले थालेको वीरताको दौड
भूगोलमा सधैँ उच्च छ
जीवन ... ... ...
अमिल्दो सन्दर्भहरुमा
सधैँ–सधैँ दुर्घटनाग्रस्त छ
मुर्दाशान्ति छाएको
मेरो देशको आयतनभरिभरि
त्रासदी छ मिलनका संजोगहरु
वियोगग्रस्त छ
जीवनका बाँकी कालखण्डहरु
 
मेरो विश्वासको आकाशभरिभरि
कुइरो लागेको बेला
यो—
मध्यरातको एकान्तबाट
बुटको सलामीसहित
पुनः तिमीलाई .....
सम्झनाको पत्र लेखिरहेछु
कि—
हाम्रो विश्वासका बकपत्रहरु
हिमालभन्दा पनि अझ अग्लो छ भनेर
समुद्रको गहिराइभन्दा पनि अझ गहिरो छ भनेर ।