भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

भोला गुरु / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

घाम ढिलो उदाएको
कुनै एक बिहान
बहुलाएर आएको चैते हुरी झैँ
फैलियो पोखराभरि
एउटा विस्मयकारी खवर
भोला गुरु हराए
 
सबैका गुरु
भोला गुरु
अचानक किन हराए ?
 
भुसमा सल्किएको आगो झैं
छिनमै व्याप्त भयो शहरभरि
त्यो विचित्र समाचार
क्याम्पस - बगर- सिमपानी
भोला गुरु नित्य हिड्ने गरेका
सडक र गल्लीहरू
कान चनाखो पार्दै सुन्न थाले
भोला गुरुको पद्चाप
 
अहँ, त्यसपछि कहिल्यै फर्किएनन् भोला गुरु
कसैले देखेनन् भोला गुरु
 
म सम्झन्छु
त्यो तातो खवरले
खडेरीको माछापुच्छ्रे झैं
सर्वाङग पग्लिएको थिएँ म पनि
प्रश्नै प्रश्नको सिस्ने झ्याङमा
पिल्सिरह्यो निक्कै दिन मेरो दिमाग
 
हेर्दा हेर्दैको माछापुच्छ्रे
अकस्मात् हराए झैं
बग्दा बग्दैको सेती
अचानक सुके झैं
आखिर त्यसरी
किन हराए भोला गुरु ?
 
समय बित्दै गयो
क्रमशः विस्मृतिमा बिलाउँदै गए
भोला गुरु
आफ्नै परिवारबाट
टोल, छिमेक र समाजबाट
समाजको रीत यस्तै न हो
  
अकल्पनीय दबाबमा
राज्य त्यागेर हराएका सिद्धार्थ गौतम
वर्षौँपछि नितान्त भिन्न कलेवरमा
तिनपटक कपिलवस्तु फर्किएझैं
भोला गुरु फर्कने आश छैन
अव फेरि पोखरामा
मलाई भने
भोला गुरुको अचानक विलुप्ती
अझै बिझाइरहन्छ मनमा
 
आखिर भोला गुरु
किन त्यति वितरागी भए ?
कसैले सुइकै नपाउने गरी
भोला गुरु किन त्यसरी हराए ?
 
हुन सक्छ
भीडमा एक्लिएका भोला गुरु
आफ्नै खोजीमा भौतारिदै
अलपत्र,
आफ्नै खुसी वा वेखुसीमा
अचानक कतै हराए ।