भ्रम बाँचेर जीवन / निमेष निखिल
उतारेर आफन्ती आवरण अनुहारबाट
मनभरि मुस्कुरायो समय
भन्यो
भ्रामक विश्वास नगर
म सृष्टि हुँ/सिर्जना हुँ
तर माफ गर
म तिम्रो मित्रचाहिँ हैन
झन् शत्रु त
कुनै पनि हालतमा हुँदै होइन।
सुकुमार दृष्टि–सौजन्यले फूल
निर्निमेष हेरिरह्यो ऊतिर
गौरवअनुभूतिको एउटा ग्रेटवाल उभिनुअगावै
बोल्यो फूल–
भ्रामक विश्वास नगर
म सौन्दर्य हुँ/कला हुँ
तिम्री प्रेमिकाको चुल्ठोको शोभामात्र बन्दिनँ म
उनको चितामा पनि सजिदिन्छु उसैगरी।
कुम्लाभरि खुसियालीका पोकापन्तुरा बोकेर
मिर्मिरे बिहानी ठिङ्ग उभियो ऊअघि
तप... तप...
आनन्दातिरेकका दुई थोपा आँसु खस्नुअगावै
बोल्यो बिहानी
भैगो सजतन राख
यी पुष्पगुच्छाहरू/यी आँसुमोतीहरू
फेरि आउनुपर्छ भोलि म
विषादका काला बादलहरू ओढेर।
र
समयबोधको चरमबिन्दुमा जब ऊ
समयको वास्तविक सृष्टिसिर्जना
आत्मसात गर्न खोज्दै थियो
फूलको यथार्थ कलासौन्दर्य अनुभूत गर्न खोज्दै थियो
त्यो कलात्मक बिहान आउनुअगावै
एउटा महायात्रामा निस्किसकेको थियो ऊ
सधैँ/सधैँका लागि ... ...।