भ्रूणहत्या / ओकिउयामा ग्वाइन
प्रथम आषाढको आज यो बेलुकी
मनको कुहिरो वरिपरि छरी
दुःखशासनको दृढता गाढेर जतनसित
बनाएर राखेछु एक दुर्गम गढी ।
आज आषाढको असार वासना मेरो
थोपो थोपो रसिएको नभएको भावनाजस्तो
माटोको मरणमा, कल्पना-केन्द्र, स्वपन-छन्द
निर्भीक-भीरुताझैं नीरस रंगमा जानेछ खेरो ।
असार वासना मेरो, पाषाणमा पारिजात चढाएका जसरी
तृप्तिको तर्पणमा आँसुका थोपा पोखाएका बेसरी;
एकत्र-मन्त्रमा विश्वको बिलौना खाँदेर मैले
माटोको मुमूर्षमा स्वर्गको सु-वास खोज्नु केसरी !
अहो कसरी, आकाशको विकाशका बकुल्लाको उज्यालो
___टल्केको जसरी-
मेरो जोखनाको भावना असारको असारमा अल्पिन्छ कसरी ?
भन नि कसरी,, विधाताको विधिसित
नियतिको नीतिबीच जीवनको जीविका खोसेर
माकले चिन्नालाई अंगालेजसरी,,
कसरी जोगाउनु छन्द-हीन यी कुल्चिएका कल्पना सब !
आज आषाढ-सन्ध्या प्रसव-वेदनाझै हाँसेछ 'रजनी-गन्धा’'
बाहिरको झिस्मिसे-सिम्सिम् पानीमा
हृदयभित्रका साना साना भावना सब, राखेका भरी
थुपारिराखेकाहरू, तिमिरमा तारकाजसरी
विश्वका वेदनाहरू,--विविध रंगमा ।
तर;-
माटोको मानिस म, मायाले घेरेको,
सुनेपछि भोकले गर्दा नानीले रोएको
र, आमाको कच्कच् भान्सा-कोठामा –
-रिसले हकारेर मलाई हतार लगाएकी
असारको असार कल्पना मेरो अल्पिन्छ कहाँ !
र म उही पुरानो मानिस उही पुरानो गुफामा
पुरानो, सुदूर अतीतको (अन्ध-मायाको) समय-शृङखलमा ।
................................................
चित्र-लेखा-बाट, २०१५