भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मकैको चमर–चमरमा सुन फुल्छ / क्षेत्रप्रताप अधिकारी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

समरमा उमर हुने बहादुरहरु
तिमीले मरीमरी आर्जेको वीरचक्र
यी आँगनहरुको निम्ति
पाङ्ग्राको ठुनीभन्दा बेसी महत्वपूर्ण छैन ।

बीस बालीपछिको अवकाशप्राप्त तिम्रो जीवन
यी घरहरुको निम्ति
मकाएको धुरीखामोभन्दा बेसी महत्वपूर्ण छैन ।

सत्य लेख्दैछु, जनै छोएर लेख्दैछु
तिमीले डिहीमा सारेको गुहेँलो पनि ठूलो भयो
ल्याइदिने कोही छैन
तिम्रो हँसिया खुर्पाठ्याकमै रह्यो
अचेलभरि तिम्रो चिनो नौगेडी माला
कान्छीको गला छोडी बेसाहा खोज्न गयो ।

अनुहारमा जस्ताको तस्तै तिमीलाई बोकेर
तिम्रो नानी गिठा र भ्याकुरमा बाँचेको छ
सबै सबै थोक गुमाइसकेर पनि
मायालुको स्यूँदोमा एक थोपा माया बाँचेको छ ।

यी सिँढीहरु सधैँ तिमी भनेर रोइदिन्छन्
यी पिँढीहरु प्रत्येक दशैँमा बेरामी भइदिन्छन्
त्यसैले वीर बहादुरहरु
ओठभरि म्वाइँ खाइदेऊ पतेनीघारीलाई
सिरुको पातपातमा जूल फुल्छ
सग्ला हात–गोडा देऊ खोल्सा र टारीलाई
मकैको चमर–चमरमा सुन फुल्छ ।