मदनकी आमा, फुलेकी सेतै ओछयान परेकी,
डाँडाकी जून, अन्त्यको दिन दुःखमा कुरेकी,
सुकेको तेल घरकी बत्ती मधुरो भएकी
अँध्यारो पारी धिपिक्कै जान तयार रहेकी।
छोराको मुख झल्झली देख्छिन्, ईश्वर पुकार्छिन्,
मनको मन त्यो छोराकन, ईश्वर गुहार्छिन्।
भ्यालको हावा फुलेको केश मुसारी हिँड्दछ,
ह्लासाको तर्फ आमाको दिल बहाई बढ्दछ।
आँखामा छैन उनको आँसु शान्तिले छाएको,
साँझको फिका जलमा अन्त्यको उज्यालो आएको,
प्राणको टेका, कलको छेका, टाढाको छोरो छ,
छोराको मुख हेरेर जाने मनको धोको छ।
जरोले तातो, पातला हात नसाले जेलेको,
रसिला–आँखा–बुहारी–हात प्रेमले मिलेको।
कलिलो हात समाई भन्छिन्, ‘मेरी हे बुहारी!
अब त बेला नजीकै आयो जानु छ उसपारि!
के गछ्र्यौ रोई, नरोऊ बुहारी!
सबैको बाटो यही हो नानी! अमीर–फकीरको,
यो माटो गई माटोमा मिल्छ दुःखको बगरको,
शहर बस्नू, नफस्नू यसमा, दुःखको जञ्जाल!
अन्त्यको बाटो उज्यालो हुने भक्ति नै सँगाल!
फुलेको देखेँ वैलेको देखेँ जगत्को फूलबारी,
दुःखमै चिनेँ ईश्वरलाई हे मेरी बुहारी!
पृथिवीभित्र रोपेको बीउ स्वर्गमा फल्दछ,
दिएको जति पृथिवीभित्र माथि नै मिल्दछ।
गरेको जति लिएर जान्छु, के जान्छ साथमा,
सपनाभित्र पाएको धन ब्यूँझेको हातमा।
बिदाइ लिन्छु सबका साथ मदन आएन,
त्यसलाई हेरी आँखाले आज चिम्लिन पाएन।
म मरिहाले मदनसँग यो भन्नू तिमीले,
‘नरुनू धेरै, भनेर गइन् अन्त्यमा बूढीले!’
रोकेको दिल आँखामा खस्छ गलामा बोल्दछ,
मुनाका छातीमा छोपेको शोक निसास्सी चल्दछ।
‘हे मेरी बज्यै! हे मेरी आमा!! यो अर्ती लिनेछु,
हजूरको मीठो सम्झनालाई आँसुले धुनेछु।
अझ ता केही भएको छैन आराम हुनेछ,
हजूरको धोको त्यो भेट यहाँ अवश्य पुग्नेछ!’
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र।
कहिलेकाहीँ मुनाको हात छामेर ‘यहाँ छ’
भनेर दिँदा बलले भन्थिन् ‘मदन कहाँ छ?’