भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मदनलाई बाटामा हैजा लाग्छ / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

‘नछाड मेरा हे साथीभाइ! वनमा मलाई,
काग र गिद्धहरुको पापी शिकार बनाई।
घरमा मेरी ती बूढी आमा, ती बूढी मर्नेछन्,
चन्द्रमा जस्ती ती मेरी मुना ठहरै पर्नेछन्।
हे मेरा साथी! हे मेरा भाइ! म अझ मर्दिनँ,
कालको साथ लडेर उठ्छु वनमा मर्दिनँ,
यो घाँटी सुक्यो; यो छाती पोल्यो; यो आँसु पुछन,
अझ छ सास, अझ छ आस, यो दर्द बुझन।
आशिष देलिन् ती बूढी आमा मलाई बचाओ!
मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो।
यो घाँटी सुक्यो म पानी खान्नँ! बिझायो यो घाँस,
घाँसको चोसा दयाले मर्छ; आँसुले पियास!’
‘के गर्छौ भाइ! टाढाको घर बाटाको जङ्गल,
यो हैजा हाम्ले कुर्हेछर बसे हुँदैन मङ्गल।
औषधिमूलो साथमा छैन यो माझ वनमा
ईश्वर सम्झी ईरश्वरै सम्झी रहे है मनमा।
घर र बार सबैले छाडी जानु त पर्दछ,
अन्त्यको बेला ईश्वर सम्झे संसार तर्दछ।’
हातले टेकी मदन उठे ती साथी गएछन्
पश्चिमतिर दिनका आँखा रगतमा डुबेछन्।
वनमा फीका अँध्यारो चढ्यो, हावा नै निदायो
पन्छीले सारा बोल्न नै छाडे, जाडोले सतायो।
दुर्दशा त्यस्तो, निठुरी सारा जङ्गल पहाड
निठुरी तारा जगतै सारा निठुरी उजाड।
पुर्लुक्क पल्टे घाँसमा फेरि सुस्केरा दिएर,
घरको तस्बीर मनमा उठ्यो झन् गाढा भएर।
‘हे मेरी आमा! मलाई तिमी सम्झँदिहोऊ नि!
हे मेरी मुना! मलाई तिमी सम्झँदिहोऊ नि!
ईश्वर! ईश्वर!! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस्।
आगोको ज्वाला कताको होला? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि? भूत पो हो कि? वनको खराब।
पयोमा यौटा झुण्डेको सास के भर, के डर?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न? फरक पर्दैन।’
भोटेको पाउ समाई भन्छन् बिचरा मदन,
‘ईश्वर मेरा हे भोटे दाइ! क्या राम्रो वचन!
घरमा मेरी छन् बूढी आमा, ती सेतै फुलेकी,
घरमा मेरी जहान यौटी बत्ती झैँ बलेकी।
मलाई आज बचाइदेऊ ईश्वरले हेर्नेछ
मानिसलाई मद्दत गर्ने स्वर्गमा पर्नेछ।
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन;
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’
बोकेर लग्यो भोटेले घर, ऊनमा बिसायो,
पानीको घुट्का पिलाइदियो दयाले रसायो।
खोजेर ल्यायो वनको बूटी घोटेर पिलायो,
चौँरीको दूध पिलाईकन बलियो बनायो।
हिमालको बूटी विचित्र थियो जादूको दियो काम
त्यो भोटे दैव नभए कठै जान्थे ती परमधाम।
वनका बीच घरेलु चिल्लो झुपडी टुमुक्क
गोबरमाटे—फूल टाटेपाटे,
वनको कोही देव र देवी घुस्ने झैँ सुटुक्क,
हाँगाको टेको, हावाको छेको ढुङको गाहारो
मदनलाई लाग्यौ महलभन्दा धनी र पियारो,
भेडाको ऊनको बिछ्यौना नरम आढ्नालाई पाखी छ,
त्यहाँको जीवन वैकुण्ठ जस्तो उनको लागि छ,
मुस्कानमा छैन मान्छेको छुरी, वचनमा छैन विष,
हावामा छैन दूषण केही, मनमा राग रिस,
दारिद्र्य त्यहाँ क्या धनी थियो थोरैमा कति धेर।
चाहिँदो रैछ के सुखलाई? प्रकृति भएनेर।
हरियो थियो आँखाको शीतल प्रकृति रङको धन
शहरमा भरी जीवन भन्छन् जीवन थियो वन!
नकली ज्ञान पोथीका भन्दा, फूल–पाना हँसिला
रङ्गिला पत्र प्रकृतिदेवी उल्टन्थिन् रसिला,
ईश्वरको ज्योति टल्कन्थ्यो त्यहीँ शीतका दानामा,
क्या बोल्थ्यो ईश्वर पखैरुबाट रङ्गनि गानामा!
फूलको बोट उम्रेको हेरी मान्छेले पाउँथ्यो ज्ञान,
सुँघेर बास्ना लट्ठ भै आत्मा भोग्दथ्यो क्या निर्वाण
लामाको जीवन प्रकृतिबीचमा बनेली मुटुमा
बुद्धको टकले झिल्केको थियो निर्वाण–पथमा
पन्छी र पशुहरूको साथी अहिंसा विचारी
रूखको ढुकढुक, फूलको धड्कन,
ज्योतिका पथमा बीजको स्फुरण,
समस्त तिनको रहस्य जान्ने प्रकृति–पुजरी
रहेछ लामा एकान्ततामा विलासिरहेको
देख्तामा झुत्रो, भित्र त्यो कत्रो! विशाल भएको
चौँरीलाई पाली, फलफूल हाली, बटुली जहान
पाल्दथ्यो यौटा आदर्श ढङ्लै कुटीमा सुबान
रहस्यमय अदृश्यसँग बसेको रमाई,
उदारताले हृदयद्वार जीवनलाई झिाई,
रोग र व्याधि निखार्न सक्ने मन्त्र र बूटीले,
मदन तङ्ग्री मोटाए पोसी त्यसका कुटीले,
हिउँले ब्रह्मा बनाइदिन्थे उसका कुमारी,
गालामा उषालालीले रङ्ग दिव्यले मुसारी,
वनकी देवी जस्ती थी छोरी बृद्धको पालाकी
उसको नाम थियो है लावा कोमल चालकी
कुमार उसको तेजिलो थियो फुचाको नामको
बर्षमा बार्हे गजबकौ तर जेहेन र कामको,
पशु र पन्छी सबेको बोली मुठीले निकाली
भाले र पोथी लागाउथ्यो बोल्न विचित्र कला ली,
महीना बित्यो मदनको त्यहाँ प्रकृतिबचिमा
अचम्म मानी आनन्दमाथि हिमालनगीचमा
बाँसुरी मधुर बजाउँथ्यो फुचा रोएर सुन्थे ती,
सुरिलो गीत गाउँथी लावा बरबर बन्थे ती,
कलुषशून्य तिनको जीवन सत्युग समान
देखेर त्यहीँ बसूँ झैँ लाग्यो सधैँ नै नजान
तैपनि मेघ दक्षिणको आयो नाघेर हिमाल
जलको कुइरो पातलो बनी,
‘कोही छ रोइरहेको’ भनी,
सम्झना दिँदै अबोल बोलमा मसिनो जञ्जाल,
पन्छीको उठान मनले टिप्यो धराको घेरापार
घर जाने इच्छा दिलसँग बढ्यो फुटेन मुखको पार
वैशाख लाग्यो पल्लवमा पन्ना, फूलमा इन्द्राणी
चरामा कलकल, साँझमा लाली,
ढुकुरमा कुकुर, डाँफेमा फुरफुर, क्वैलीमा सुवाणी,
नालामा छलफल, हिमालमा झलझल, हाँगामा फुर्फुर,
मुजूरमा ढाँचा, हरिणमा कन्याइ, मिर्गमा छुर्छुर,
लहरा हल्के हल्लेर फुल्की मधुम, गुनगुन भो!
नवीन मीठा कलकले वन शिशु–शिर छुनमुन भो,
वास्नाका कण दुगुर्न थाले, पोथीलाई बोलाउन,
शब्दले डाक्थ्यो मुटुको शब्द,
प्रश्नका साथ उत्तर लागे वनलाई गुञ्जाउन,
सृष्टिले नयाँ नाटक रचिन् आनन्द चञ्चल भो,
प्रमको राज्य हरियो भयो, जीवन हलचल भो,
पूर्णिमा आइन् हिमाल–भालमा बाटुली बनैर
अमृत थाली झिलमिल पाली,
जादूको जाली शीतल हाली,
चराचर–दिलमा जलप लगाई हिमाल सपनेर,
वर भो यौटा द्यौथल सुन्दर जूनको जलपमा,
परीको संसार स्वप्नको मुहार शीतल झलकमा,
जुनेली फूल फक्रेर आए हृदय खोलेर
पातला पात भै पारदर्शी जूनसँग बोलेर
बुद्धको थियो उत्सवको रात उज्यालो खुलेको
विशवमा शान्ति मनमा कान्ति,
चराचरलाई नवीन जीवन अमृत मिलेको
लामाले लियो बाँसुरी हातमा वनको बाँसुरी
जनको मन कुर्लने भन,
सङ्गीतको आत्मा अटाउँने खाक्रो प्वालसुरे बाँसुरी।
टिरि र लिरि बाँसुरी बोल्यो अबोला बोलाई वन
लावा र फुचा हातपाउ फाली,
तालमा नाचे शरीर चाली,
बुद्धको जीवन–कथाको सारमा भावले नाच्यो मन,
गीत गाए तब लामाका जहान मिलेर वनमा
भोटेको छन्द दोसाँधे मिठास शब्दको बन्धमा
मदनको आत्मा बुद्धको लोकको मुक्तिमा रमायो
उनले टिपे तलको गाना हृदय रसायो–