भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मदन भोट जान्छन् - १ / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गुलाबलाई देखेर राम्रो हे भाइ! नछुनू!
लोभले हेर्योे; मोहनी गयो जङ्गली नहुनू!
सिर्जनाभित्र रचना राम्रा नजरका जुहार!
ईश्वरको हाँसो पाएका फूल छोएर नमार
 भित्र छ आत्मा मसिनो तिनको पत्तीमा झल्केको
भित्र छ तिनको मसिनो बास्ना हावामा बल्केको
सुन्दर सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा।
गुलाफ आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले
बोलाउन आप्ना आत्माले आत्मा सुन्दरको आह्वानले
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही?
मुस्कान देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले।
घरमा आई माउर लाई नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे समाई,
‘कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको!
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको!
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको!
छ मैना भयो खसम हजूर! गएको ह्लासामा।
बिस्र्यो है क्या र? हजूरलाई तरुनी-खासामा।
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन्?’
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो।
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू!
म अरु जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू!
यी कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख।
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल।
गुलाब जस्तो फुलेको दिल कोपिला हुँदैन,
जो एकबाजि सुम्पियो बुझ्यौ सो आफ्नो हुँदैन,
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कुँला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसुँला।
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्नु माथि बाबुको अघि हिलोले बिगारे!
     दयाले नैनी! ईश्वरले सिँगारे!
पापको भारी बोकेर फेरि उक्लनु कसोरी!
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी! फिर्दैन यसोरी!
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,
मानिसहरुको मनको जगत् गर्दिन्छ पवित्र।
ती तिम्रा आँखा रसाई आए, परेला अडेको,
आँसुका ढिका क्या राम्रो देखेँ अगाडि बढेको!
हे नैनी दिदी! मनको मैलो आँसुले पखाल्छ,
आँसुका थोपा आफैँमा असे यो मन उचाल्छ।
यी मेरा कुरा गएर तिमी अरुमा सुनाऊ,
आँसुका ढिका बनाई राम्रा खसाल्न लगाऊ,
नभएदेखि सङ्घारवारि हे नैनी! नआऊ!’
 ‘बिराएँ हजूर, माफ रहोस् कसूर’ नैजीले जोडी हात,
भुङ्ग्राले जल्यो उसको गाला
मानव–आत्मा पतनमा पनि
निदाइरहन्न लौ हेर! चाला
अन्तरले उसको के भोग्यो होला शरमको बज्रपात।
त्यो दिनपछि त्यो लागी भन्छन् कृष्णको भजनमा
सुतनेलाई त्यस्तै जगाउने शक्ति सतको वचनमा,
भाइ! सतीको वचनमा!
सिङ्डोङ्कारमाथि पहाडी चुच्चो आगो झैँ बल्दछ,
त्यो ताशीलिङ्गा फूलको बारी हावामा झुल्दछ।
तलाउ लुक्याङ् चम्कन्छ तल, आकाशतर्फको,
सुनले छाएको गुलाबी घर फोडाङमार्पोको
चुङसुक्याङ् भन्ने सडक राम्रो, चूजिक्याङ् बगैँचा,
अस्कानी पुल यूतोक स्याँपा घाँसका गलैँचा,
फूलबुट्टे चउर घाँसका बगैँचा।
चम्किलो सुनको रङ्गिलो देश नौलो र उज्यालो,
कस्तूरी-वास, सुनको रास, बाटो त उकालो,
आएर बसी के जानु चाँडै नबुझी नौलो चाल,
मित्यारी लाई मदन बसे घरको बिर्सी हाल।
छ मैना गयो, सात मैना गयो मन भो झसङ्ग
ती मुना प्यारी, आमा बेचारी मन भो झसङ्ग
मनमा आए लहर नाघी जङ्घार तर्योम पार,
मनले उनको पखेटा हाल्यो उडेर गयो घर।
बसेको बस्यै घरमा पुगे आमा छन् बिरामी,
मुनाका आँखा रोएर ठूला, नयन बदामी,
लाम्चिला, ठूला नयन बदामी!
घ्याङ्घुङे घण्टा गुम्बामा बज्यो, बादल झुम्मियो,
पहाडमनि पहाडी छाया साँझमा लम्बियो।
बतास चीसो चम्केर आयो मनको तन्द्रामा,
उठेर देखे भेडाको भुवा ओढेका चन्द्रमा।
उदासी जून, फिकामा गए मदन डेरामा,
ती आमा नाचिन्, ती मुना नाचिन् आँखाको घेरामा।
त्यो रात त्यसै छर्लङ्ग गयो, ओछयान बिझायो,
छातीमा केले थिचे झैँ लाग्यो आकाश रछायो।
 छबीस दिन उज्याला पङ्खी हिमालमा ब्यूँझेर
पश्चिमी सुनको सागरपारि गएछन् उडेर
गोसाइाकुण्डको धेरै नै पानी गङ्गामा बग्यो हो,
ह्लासाको जादू घरले जित्यो
नेपाल–खाडी निर–किल्लाभित्र स्वप्नमा अड्यो हो,
साहुका साथ सिकेर किल्ली बेपारमा चलेथे
तीन मैना चल्दा क्यै गुठिल जम्मा भएर फुलेथे
कस्तुरी असल बिनाका बिना बटुली सह्यारे
शिलाजित बूटी उत्तम केही बटुले त्यहाँ रे
सुनका माल प्रशस्तै मिले लगाउँदा लगानी
आफूलाई चाहिनेसम्मको धन कमाए त्यहाँ नि!
 ओखती केही लगेका थिए एक लामा धनीको,
 दमको व्यथा निमन भयो भाग्य नै बनिगो,
आफूले उनले चिताएभन्दा रास थियो सुनको,
नेपाल फर्की जानै भो इच्छा अब ता उनको
लुकाई गर्हौँो सुनका थैली, कस्तूरी सह्यारी,
ती बिदाबारी भएर हिँडे ईश्वर पुकारी।