भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मदन भोट जान्छन् / मुना मदन / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

डाँडा र काँडा, उकाला ठाडा जङ्घार हजार,
भोटको बाटो ढुङ्गा र माटो नङ्गा र उजार,
कुइरो डम्म, हिउँले टम्म त्यो विष फुलेको,
सिम्सिमे पानी, बतास चीसो बरफ झैँ डुलेको।
मसाने खम्बा लामाका गुम्बा शिर गोल खौरेका,
बाटामा जाने हात खुट्टा ताने, आगाले बौरेका।
बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
मदन ह्लासा झलझल देख्थे ब्यूँझिँदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी!
स्याउला चीसा, ओछयान खासा जाडोले बज्ने दाँत,
पकाई झिक्ता नखान पाई काँचाको काँचै भात।

 बाटामा सही अनेक कष्ट लक्ष्यको टुनामा
 मदन ह्लासा झलमल देख्थे ब्यूँझिदो स्वप्नमा
कल्पना ल्याउँछे दूरको दृश्य जादूका जलप दी
ह्लासाको शहर चम्कन्छ पथमा विचित्र झलक दी।

आखिर ठूलो सुनको छाना साँझमा सुहायो,
मैदानतिर पोतालामनि ह्लासा नै मुस्कायो।
आकाश छुने पहाडजस्तो सुनबुट्टे तामाको,
सुनको छाना, दरबार अजङ् त्यो दले लामाको
चौँरीको पर्दा, बुद्धको मूर्ति सुनमा कुँदेको,
रङ्गीन ढुङ्गा, अप्सरा सारी बुट्टामा चुँदेको।
शीतल पानी, हरिया पात, हिउँका टाकुरा,
शिरीष फूल फुलेको सेतो, रुखका आँकुरा।
कीचको खोला, लिङ्कोरको दृश्य, अम्बानको महल,
यूतोक स्याम्पा, त्यो पुल राम्रो, त्यो ह्लासा झल्मल।
ती हस्तिहाडसरिका सेता, भोटेनी भरखरका,
आँखाका काला, नौनीका छाला, त्यो ह्लासा शहरका।
खौरेका शिर भोटेका गुरु, ती माला फिराई,
गम्भीर चाला, गडेका आँखा अनौठा लगाई।
‘ॐ मणिपद्मे ॐ मणिपद्मे’ भनेर हिँडेका,
कपाल थापी आशीर्वाद मागी बटुवा बढेका।
त्यो नौलो गाउँ, त्यो नौलो ठाउँ, त्यो नौलो सडकमा,
ह्लासाको शहर क्या लाग्दो रहर सुनको झलकमा!

 हिमालको आकाश किनारापारि बुद्घको शीतल घाम
सुनौला बादल नगरी जस्तो गन्धर्व —परी —ग्राम,
विपनाभन्दा सपना राम्रो यथार्थभन्दा भाव,
स्वर्गमा यात्रा गरे झैं चले बबाटाको बिर्सी ताप,
ह्लासाको झल्के सुनका छाना उनका आँखामा,
रङ्गीन फल नौरङ्गी फुले उत्तरका शाखामा।
दुधले न्वाउँथिन् भोटकी रानी, फुलमा सुत्त थिइन्,
हिमालको हिउँसँगैमा स्पधौ छालाले गर्दथिइन्,
गुलाफसँग दाँजिनुपथ्र्यो ऐनामा गाला रे।
एक राज्य किन्ने गलामा उनको रत्नको माल रे।
फुलको मह सहेली टिप्थे वागमा छानेर,
मणिको प्याला उचाली प्यूँथिन् आनन्द मानेर,
तरंग यस्ता हजारौ चले मदनका मनमा
सुनेको माथि कल्पना लागी रंगिलो क्षणमा।
बाटो त सार्होल यमालो ठाडो कहीँ छ बित्ते भीर,
कहीँ छ डोरी टाँगेको पूल कहाली रिङ्ने शिर;
पातलो उचाईं धप्काउँदो फोक्सो मुटुलाई फोरेर
गरल लीला पर्वतमाथि पर्वत चढेर
तपस्वीलाई निर्माणनिम्ति चढाई कठोर
हजारौं सही भएझैं विफल कष्ट भो अघोर
बीचबीचमा तर अमोल झल्क्का पाइन्थे पथमा,
नन्दन जस्ता फुलेका जङ्गल पहाडी पटमा,
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा,
प्रकृति उनलाई छक पारिदिन्थिन्, झल्काई मुटु वाः।
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
गर्जनतल, इन्द्रेनीतल,
झुल्कन्छ घाम, तल छ जल
माथि छ मानव स्वर्पुरमाझै चुलीमा पवित्र।
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फयाँकि बाँसुरी तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र,
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र।
पृथिवि भरमा क्वै जाति भए नेपाली के कम छ?
मनमन भन्थे मदन त्यहाँ यहाँ क्या जीवन छ।
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव तपस्वी,
विश्वमा नेपाल विक्रम—तेजले हुनेछ यशस्वी।
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
गुन्जायमान शीतल पर्वत शीकर दानाले।
अमृत जल त्यो भन्दा मीठो पृथ्वीमा पाइन्न,
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न।
ढुङ्गाको दाँत,झन् तीखो बतास दार्हा नै किटाउने,
विचित्र जन्तु सैरने बन गोधूली—छायामा,
कालीको बाहन फुकेर चर्ने मिर्गका कायामा।
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल!
जीवनको मीठो आनन्द चर्को हरियो हावामा
उद्गार गरी थरी र थरी
फुर्फुरी गर्ने भुर्भुरी लिने,
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा!
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा!
क्वै देवी थिइन् गहन वनमा, अमित सुन्दरी,
भीषण काली क्रोधमा तर,
नङ र चुच्चो लोहित हुँदी आँधीको भुमरी!
कृष्ण र राधा झूलन खेल्ने लहरा फुलेका
अत्तर बास्ने पत्तीका झुप्पा जहाँ छन् हिलका,
सुन्दरताको विचित्र लोक जङ्गली एकलासमा,
देखेर मदन गदगद हुन्थे विचित्र मिठासमा,
मिर्गको पाठो कोमल चिल्लो फुर्फुरे शैशवमा,
चाञ्चल्यको नै आनन्दस्वरुप फुर्केको रहरमा,
इन्द्रेनीराज्य फुलारु बाक्ला जङ्गल नाघेर
मदन चढे पर्वत ऊँचा हिमालमा लागेर,
पर्वतराज पृथ्वीका ताज ओजस्वी हिमाल,
काँधमा स्वर्ग बोकेर हेर्थे नीलिम नेपाल,
दिनले लिँदा पहिलो झुल्को सगरमाथामा,
उषाले बाल्थिन् लखबत्ती-चुह्ली सुनौला ज्वालामा,
एकान्त त्याहाँ शासन गर्थे साम्राज्य सेतोमा
तपस्या त्यहाँ शान्तिमा चढ्थिन् स्वर्गको बाटोमा,
बिहानी लाली घसेर आउँदा प्रथम गुलाफ,
सृष्टिको पैह्लो ललित रङ्ग धम्काउँथ्यो रवाफ,
मानिसलाई चुनौती दिने हिउँका टाकुरा
डुबुवा दिनले छोएर बल्थे
प्रकृति-मन्दिर सुनौला गजूर धप्के झैँ हजारौँ!
विशालताको रोमाञ्चकारी हिमाली स्वरुप,
विभिन्न पाटे भएर झल्को दर्शाउँथ्यो अनूप।
करुणाजस्तो कोमल निर्मल हिउँको कया छ,
भूभरको ऊँचा भएर भूमा पग्लिने माया छ।
रहस्य यौटा अवश्य राख्थ्यो स्वर्गिक चुली खास,
उमा र शिव गर्दथे भूको टुपीमा ऊँचा वास।
सकलयुगको इतिहास जानी निश्चल तपस्वी,
सागर भेटी बादल फ्याँक्थे
आसिकजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी।
जूनले लस्दा हिमाल महल कान्तिलृ कोमल,
चाँदनी स्वर्ग, चाँदिलो सपना
अमृत-जलप-निवास बन्थ्यो उमाको शीतल,
पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल।
एकान्तलाई त्योभन्दा ठूलो विलस थिएन,
संसारी विष निभाउन शीतल
तयोभन्दा र्को भूतलमा कहीँ स्थल नै थिएन,
अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा,
पग्लेर स्वतः बर्बर झर्झर्
तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियँमा।
श्यामल धन नेपालको भन कसको वरदान?
जलडोरे अनेक सभ्यता युगका कसको प्रदान?
उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,
आश्चर्य के छ भारत खोज्थ्यो
त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने।
उचाली आफ्नो मनको तह तरङ्ग उचाली
हिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली।
धूपीका घारी सल्लका घारी पर्वत चढेका,
हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका।
पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,
छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन्।
बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो,
भोट जाने युवा हिउँको लामो लहरमा खडा भो।
बुर्बुरे चीनी हलाले छानी सल्लाको सियाभर,
पवित्रताको पीठोको धूली पर्वतमा छरबर,
शीतमा थियो अग्निको जलन पैताला जलाउने
हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,
बतासले दार्हाा किटेृर टोक्थ्यो साँझमा मुटुलाई
भोटेली पोशाक दोचा र भुत्ले टोपीले उनलाई,
सुकुटी चिया भेडाको धुली चौरी दुध गट्टाले
बचाए बल्ल क्या कष्ट पाए बाटामा पठ्ठाले।
प्रकृति देवी मानिसप्रति क्रूर र निठुरी
भएर जान्थिन् पठार पुग्दा पृथ्वीको जो धुरी।
उब्जनी छैन, खानलाई छैन, प्यून नदारत,
बल्ल र तल्ल सँभाली सामल
नेपाली साँघु भोटेको त्यो दल—
सँगमा मदन जिनतिन चले कष्टको कडा पथ।
अनेक दुःख बाटामा सही देखेर उदेक
एक मैन्हापछि मदन पुगे ह्लासाको नजीक।

अकेली मुना अत्यन्तै राम्री कमल झैँ फुलेकी,
बादलको चाँदी किनारा छोई जून झैँ खुलेकी।
कलिला ओठ खोलेर हाँस्ता मोती नै बर्सन्थ्यो
पसु की फूल झैँ सुकेर गइन् आँसु नै बर्सन्थ्यो।
लाम्चिला आँखा पुछेर गर्थिन् सासूको सुसार
कोठामा सुत्ता तकिया भिज्थ्यो चिन्ताले हजार,
ती दिन लामा, ती रात लामा, ती दिन उदासी।
अँध्यारा रात, उज्याला रात जून नै उदासी।
झ्यालमा आँसु मुनाको मन चिन्ताको आहारा।
स्वरमा आँसुको सिम्सिमे वर्षा मसिनो चले झैँ,
एकान्तभित्र उठ्तछ गाना विरह बोले झैँ।
चिन्ताले लाखाँ लाग्दैन आँखा सपना प्यारो छ,
सपनाभित्र उनलाई देखे उठ्न नै गार्होय छ।
सपनाभित्र उडेन सास भनेर ती रुन्छिन्,
दिनको दिन गुलाब जस्ती वैलेर रहन्छिन्।
मनको दुःख मनैमा राख्छिन् नबोली, छिपाई,
छातीको शर, पन्छीको प्वाँख राख्तछ लुकाई।
उज्यालो हुन्छ दिनको अन्त्यमा बत्तीको धिप्धिप्मा,
वैलिँदा फूल झन् हुन्छ राम्रो शरदको समीपमा।
बादलको कालो किनार चाँदी, झन् जुन उज्यालो,
विदाको वदन झल्कन्छ मनमा दुःखको उज्यालो।
फूलमा खस्छन् शीतका आँसु आकाशमा वर्षाजल,
रातका आँसु तारका ज्योति, टप्कनछन् महीतल।
गुलाब मीठो जरामा बन्छ कीराको आहार,
शहरभित्र फुलेको फूल दुष्टको शिकार।
मानिसको हात निर्मल पानी हिलोले भर्दिन्छ,
मानिसलाई बाटामा काँढा मानिस छर्दिन्छ।
अत्यन्त राम्री यी मुना हाम्री भ्यालमा बसेकी,
शहरको यौटा गुण्डाले देख्यो अप्सरा खसेकी।
भवानीलाई कातेर बत्ती बेयाद रहेकी,
गालाको पाटा कानको लोती, कपाल घुम्रेकी,
त्यो छड्के दर्शन पाएर उभियो पागलै भएर,
घरको वर, घरको पर त्यो घुम्थ्यो गएर।