भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मध्यान्तर / मौन आवाज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जङ्गलको मध्यभागमा आइपुगेपछि
कसरी कसरी म झस्किएको छु !

मसँग डोरी छ
जङ्गलमा रुखहरू छन्
अब मैले कुनै न कुनै रुखमा झूण्डिएर मर्नुपर्नेछ !

हुन त
मसँग किताब पनि छ
चक्कु पनि छ
बाउ - आमा र छोराछोरीसँग हाँसेर खिचेको
सुन्दर फोटो पनि छ !

मसँग टर्चलाइट पनि छ
सलाई पनि छ
जिवनलाई चाहिँने प्रशस्त उज्यालो भएर पनि
कसरी म यो घोर अन्धकारमा आइपुगेँ ?

बिहान उठेर कतै गएपनि
राती उठेर कतै गएपनि
घरमैं आइपुग्ने मान्छे कसरी जङ्गलमा आइपुगें ?
अब मलाई विषालु सर्पहरूले डसेर मार्नेछ
जङ्गली जनावरहरूले आक्रमण गरेर मार्नेछ
कसैगरी बाँचेछु भने
मलाई मेरै जिन्दगीले किचेर मार्नेछ !

उसो त
मेरो झोलामा विष पनि छ
पेस्तोल पनि छ
विभिन्न धर्मग्रन्थ र राजनीतिक घोषणपत्र पनि छ ।

मलाई डर लाग्न थालेको छ
के म कसैको हत्या त गर्न लागिरहेको छैन ?
के म आत्महत्या त गर्न लागिरहेको छैन  ?
जङ्गलको मध्य भागमा आइपुगेपछि
कसरी कसरी म झस्किएको छु !

जिवनको मध्य भागमा आइपुगेपछि
कसरी कसरी म झस्किएको छु !

०००