मयुर वन / बडागुरु रामचन्द्रप्पा / सुमन पोखरेल
मुजुर नाच्ने ठाउँमा हिजोसम्म मुस्काउँदै झुलिरहेको बाली
कसले काट्यो ?
आखाँ चिम्लियो भने कुवाबाट बगेर बाहिर निस्कन्छन् भ्यागुताहरू
निदाएको बेलामा ताछिएर जान्छन् स्मृतिहरू ।
सपनाको स्याहारले फक्रियो मन
थाह छैन कसले रगतमा बिटुल्याएको हो यसलाई ।
पसिनाले काटेको उज्यालोलाई
कसले चोरेको हो अँध्यारोमा, थाह छैन मलाई।
प्रतिशोधले एउटा अण्डा पार्यो तरवारयुद्धमा
माटामा मरेको छ प्रेम
सडक सडक बग्दछ पीडा,
आँखामा रहन्छ जमेको जति ।
नदीमा पसिना बगिरहेछ, पसिना बलिरहेछ सूर्यकिरणमा
अँध्यारामा, नाङ्गो घाममा
सबैतिर लेखिरहेछ पसिनाले
जीवनको पूरै सागर निल्नेगरी प्यासी
वाष्पीकृत भयो, पसिना निस्कला भन्ने सोचेर।
जीवनको सागर, एउटा जलिरहेको जलिरहेको धमिराको घर
प्रत्येक छाल, फ्वाँ गर्दो गोमनसर्प!
अहँ, बिहानलाई पर्खिने पसिनाले
कुनै जीवन दिँदैन यहाँ
हेर्नका लागि आँखा उघार्दैन सूर्यले कहिल्यै
स्थिर रहन्छ सागर
कहिल्यै रसाउँदैन अमृत, एक थोपो पनि।
अन्त्यमा, उही अनुरोधहरू
आँशु नझार;
पसिनाले नग्याउँछ
शासन गर्छ, ढोका थुनेर बसेको अन्धकारले ।
जन्म हुँदा बिरुवा रोपियो।
मृत्यु, तँ जो सबैलाई मार्छस्
किन मर्दैनस् तँ आफू चाहिँ?
चराको ङ्याकिएको गलाबाट
तारा रोएको बेला
किन देखापर्दैनस् तँ?
अरूको बीचमा छोपिएको
हे, षडयन्त्रकारी मृत्यु,
चकनाचुर भयो
पसिनामा बनेको स्वप्नमहल।
बादलमा चट्याङको गुँड
माटामा बिजुलीको कोपिला
बलिरहेका कोइलाका खेलौना हाँगाका बीचमा
अन्धो भएको ढुङ्गामा उज्यालो !
बास बस्ने टहरोमा धमिराका सयौँ घर
सर्पका जिब्रामा चित्र झुन्डिएका
कसाहीका दोकानमा जीवनको खोजी,
हाम्रो सपना : मर्नका लागि बाँच्ने गर्छ।
जन्ममा मृत्युको बिरुवा रोप्नु
पाकेका फललाई सावधानीपूर्वक पर्खिनु
दिनहुँका अफ्ट्याराबीच मलजल गर्नु र
फल पाक्ने आशमा पर्खिएर जीवन खेर फाल्नु।
भन् मृत्यु, मलाई भन्
कुन कुनामा बस्छस् तँ
जीवनका झन्झटको नदेखिने ओढ्नेले आफूलाई छोपेर?
र कसरी एकाएक देखापर्छस् तँ
कर्णलाई हानिएको बाण जसरी!