Last modified on 3 फ़रवरी 2015, at 15:32

मर्दैछ हामीमा हामी बाँचेको युग / भूपी शेरचन

बाँधका मुहान
अनि खोला नाला र तालका कुरहरुमा
थापेजस्तै माछा समाउने पोडेहरुले डोका र जालहरु
यो युग जसमा बाबुहरुले
भोगपछिको जिम्मेदारीसँग बाँच्न
थाप्छन
गर्भाशयतिर लम्केका आफ्नै सम्भावित सन्तान
शुक्रकीटहरुलाई नष्ट गर्ने पासोहरु
र आमाहरु
आफ्नै आनन्दलाई चिन्तामुक्त गर्छन्
गर्भाशयको ढोकामा
आफ्नै सम्भावित छोरा–छोरीको प्रवेशलाई
निषेध गर्ने पालेहरु उभ्याएर
यो युगमा जसमा
भाग्यवश
संयोगवश
पाएभने कसैले प्रवेश गर्भाशयभित्र
तीमध्ये पनि कैयन् नष्ट गरिन्छन्
आफ्नै आमा–बाबुद्वारा खटाइएका
जिउँदो वा मुर्दा समाउने आदेश पाएका
यमदूतमरुद्वारा
यस युगमा
यस्तो युगमा जन्मेका छौं हामी
जन्मिनुअगावै मृत्युको त्रास बोकेर
हत्याको सुईको पाएर
आएका छौँ हामी यस पृथ्वीमा
आफ्नै निर्माताहरुको इच्छाविरुद्ध
उनीहरुको षड्यन्त्रलाई तोडेर
पहिलो पटक
नीलो चहकिलो आकाशमुनि पहिलो पटक
हरियो भरियो पृथ्वीमाथि पहिलो पटक
पहिलो
पहिलो
र पहिलो पटक
खोल्यौँ पनि त हामीले आँखा यस धरतीमा
पोलिनलाई ठीक भइसकेका
नाजी ग्याँसच्यम्बरका कैदीहरुले मूर्छा परेर
अन्तिम घडीमा मुक्तिपाएर आँखा खोलेजस्तै
आफूलाई मृत
र आँखाअगाडिको संसारलाई
मृत्युपछिको अर्कै लोक भन्ठानेर
त्यसैले हामी बाँचिरहेका छौँ
बाँच्नुप्रति चिसो र शङ्कालु भएर
र हामी हुर्किरहेका छौँ त्यस युगमा
जुन युगमा
हामीभित्र
हामी सँग–सँगै
हर्किरहेको छ एउटा तीव्र अनास्था
स्वयं यस युगप्रति नै
यस युगको अस्तित्वप्रति नै।

(२०२४–रुपरेखा)