मलाई हिउँ बन्न मन लाग्छ / निमेष निखिल
मलाई हिउँ बन्न मन लाग्छ
र पग्लेर एक चुम्बनमा अंशुमालीको
खोचैखोच हुँदै बेसी झर्न मन लाग्छ।
मलाई हिउँ बन्न मन लाग्छ
किनकि हिउँ मान्छेको मनजस्तो कालो हुँदैन
हिउँमा मान्छेको जस्तो कुनै
प्रलयकारी षड्यन्त्रको जालो पनि हुँदैन
कसैलाई मायाको सपना बाँड्दैन हिउँ
धोखाको उपहार पनि दिँदैन
अञ्जुलिभरि शुभ्र/सेता फूलहरू बोकेर
हिउँले सधैँ
सबैको सुख र कल्याणको कामना गाइरहन्छ
मलाई हिउँ बन्न मन लाग्छ।
मान्छेले जस्तो भेषधारण गरेर
हिउँले कसैलाई झुक्याएको देखेका छौ ?
कि परपीडामा आनन्दित हुँदै
मान्छेजस्तै विभोर भएको देखेका छौ हिउँलाई ?
टेक्दामा अलिकता गोडा ठिहिर्या यो भन्दैमा
हेर्दाहेर्दै पानी बनेर बिलायो भन्दैमा
हिउँलाई कपटीको संज्ञा दियौ तिमीले ?
के तिमीले हिउँलाई छातीमा टाँसेर
यसको आत्मीयता आत्मसात गर्न खोज्यौ कहिल्यै ?
पग्लनु हिउँको स्वभाव हो' भनेर
हिउँलाई हिउँको रुपमा स्विकार्यौय तिमीले ?
सधैँसधैँ मान्छेभन्दा अरु केही हुन नसक्ने तिमीले
आफूबाट मान्छेलाई फुकालेर
हिउँमा रुपान्तरण गर्न खोजेका छौ?
सक्छौ भने आऊ!
एउटा सुखद् बोधको अनुभूति साटासाट गरौँ
आऊ एकैछिन हामी हिउँ बनेर हेरौँ
हिउँ बनेर पग्लिऔँ र
पानी बगेर हेरौँ।
मलाई हिउँ बन्न मन लाग्छ
र पग्लेर एक चुम्बनमा अंशुमालीको
खोचैखोच हुँदै बेसी झर्न मन लाग्छ।