मलामी / विमला तुम्खेवा
सेता गुलाबहरु
मृत्युको साम्राज्यमा बन्दी बनाइएको छ
अर्थ–अर्थमा धर्ती फिँजिएर
मनहरु —
फूलको मलामी भएका छन्
र —
काँडाहरुको पहाड अग्लिरहेछन्
छोरा यसबखत —
म तिमीलाई शान्तिको कथा सुनाउन असमर्थ छु
म — शताब्दियौँदेखि यही माटो उभिएर
निर्लास बाँचिरहेछु
समयको गतिमा एउटा ताल भएर
पीडाको देशमा —
निर्घात अनि उम्कनै नसकिने बन्दीगृहजस्तो
एकोहोरो / उदास
र — पट्यारलाग्दो लामो जिन्दगी
मलाई मृत्यु दिन मन लागेको छ
यदि —
मेरो समाप्तिमा तिमी निर्माण हुन्छौ भने
तर छोरा
रगतैरगतको आलो सहरमा
तिम्रो जीवनको कुनै सुरक्षा छैन
तिमीले देखेको सपनामा जीवनको कुनै आभास छैन
त्यहाँ त मात्र पीडा छ विद्रोह छ
र
भविष्यको डरलाग्दा चोटहरु छन्
छोरा —
यसबखत म तिमीलाई मारियाको प्रेम उपदेश होइन
सकुनीको कुटीलतालाई बुझ्न आग्रह गर्छु
त्यहाँ — विद्रोहको भए पनि सपनाको इतिहास छ ।