महाकविको ईश्वर र मृत्यु पर्व / देवान किराती
ईश्वर !
म पनि चिन्दछु
महाकविको त्यो सुन्दर ईश्वर ।
तर आजकल धेरै भयो नदेखेको
देवकोटाको त्यो ईश्वर ।
आजकल सहर–सडकहरूमा
गाउँ–गोरेटाहरूमा
हूलहूल भीडहरू
कुनै नौलो अनौठो पर्वहरू मनाइरहेको देख्छु
सायद ईश्वर मृत्युको मृत्युपर्व हुनुपर्छ यो ।
पानी–हुरी चलेको साँझ
भोको पेटमा रुँदै चिच्याएझैँ नानीले
चिच्याएको सुनेको थिएँ
अज्ञात स्थलतिर
सायद त्यो ईश्वर हुनुपर्छ महाकविको
कुनै सर्वहारा दुब्र्यसनीको डसाइले रोएको
या कुनै सामन्ती छुरीले रोपिएर चिच्याएको ।
धेरै भयो नदेखेको देवकोटाको त्यो ईश्वर ।
हल्ला पनि चलेकै हो शनैः शनैः
ईश्वर आजकल जङ्गलकै बाटो मात्र हिँड्छ
हतियार बोकेर
र यो पनि हल्ला आएकै हो हुरीको वेगझैँ
ईश्वर आजकल ईश्वर नै खोज्दै हिँड्छ
अनकन्टार सहरतिर
र देख्नेहरूले भनेकै हुन्
आँखा फुटाइएको
मुटु निकालिएको
गिदी झिकिएको
क्षत–विक्षत गुप्ताङ्ग
वस्त्रविहीन अज्ञात लास भेटिएको खोल्सामा ।
सायद
ईश्वरको लास हुनुपर्छ त्यो महाकविको ।
आजकल जतासुकै
हूलहूल भीडहरू
कुनै नौलो अनौठो पर्वहरू मनाइरहेको देख्छु
सायद ईश्वर मृत्युको मृत्युपर्व हुनुपर्छ यो ।