महाकविलाई सम्झँदा / विष्णु न्यौपाने
कालो  देह  कुँदेर  चम्चम  भयो  घोटेर  तिम्रै  गला ।
लेखी काव्य पिलाइ  उन्नत  बने साहित्य, भाषा, कला ।।
त्यो शाकुन्तल,कुञ्जिनी,वनकुसुम् ,लूनी, भिखारी, सती— ।
सावित्री,   पुतली,  प्रमीथस  बने  यो राष्ट्रका सम्पति ।।
			(१)
यात्री मन्दिरका  कथा  गरिबका  पीडा  सबैका खिची ।
प्यारो देश चिनाइद्यौ जगतमा विश्वास  नौला  सिँची ।।
सारा  सृष्टि जिती गयौ पवनमा  स्वामी  बनी आखिर ।
नौला  दृष्टि छरी  गयौ  भुवनमा  साहित्यका  खातिर ।।
			(२)
भन्थ्यौ  हिक्मतका अजेय  गण झैं  हामी बनौं सुन्दर ।
राखौं  केवल  श्रेय  विश्व  बिचमा शौदामिनी –बैभव ।।
नेपाली  पनमा  सगर्व  खुसिले  हाँसेर  बाँच्ने  तिमी ।
छातीमा  श्रमको  विरासत  गुथी नाचेर बाँच्ने  तिमीे ।।
			(३)
हुर्केथ्यौ अति  दुष्ट  शासन बिचै  भोगेर  काला  दसा ।
स्वीकारी भय,  मृत्यु  त्यो कलमले हो युद्ध हाँक्यौ सदा ।।
स्वच्छन्दीय  कला  उनेर कविता  साहित्यको  सिर्जना ।
गथ्र्यौ ठाँट फिंजाइ आँट गतिला  बोकी  नयाँ  तिर्सना ।।
			(४)
मान्छेले श्रमलाइ  सम्पति अझै  सम्झेन आफ्नो  किन ? 
नेपाली जनले  भविष्य गतिलो   कोरेन  आफ्नै  किन ?
रुन्थ्यौ  आज  तिमी दुखेर  विचरा  पाखा परे सन्तति ।
लाखौं  लाख  विदेशका कुल तरे  मासेर  आफ्नो गति ।।
			(५)
हाम्रो शक्ति विदेशिँदै  छ दिनहूँ रोकिन्न के आखिर ?
आफ्नै आँगनमा भिजोस् मन सधैं यो देशका खातिर ।।
वर्षा  बर्सन  सक्छ  गाथ नहटे  नेपालका  काखमा ।
ढुङ्गा पग्लन सक्छ  साथ नटुटे यो  देशका  गाथमा ।।
			(६)
हाम्रो राष्ट्र विशाल उर्भर सधैं नानी बनोस्  विश्वको ।  
लाखौंका पसिना चुहाइ सजिने खानी बनोस् विश्वकोे ।।
सक्छौ ?आउ तिमी विषाक्त युगका मासेर सारा कथा ।
नौलो  शासन  स्थापना  गरिदिऊँ  नेपालमा  सर्वदा ।।
			(७)
हामी उच्च बनाउँ  कर्म  पहिले  सर्वोच्चता  साधना ।
ठूलो  सानु  हुँदैन कर्म  कहिल्यै  मात्रै त हो भावना ।।
भन्ने  भाव  जगाइ  आत्म श्रममा जोडेर हुर्काइद्यौ ।
सादा जीवन उच्च चिन्तन बनुन् घोटेर यो प्याइद्यौ ।।
			(८)
 
	
	

