भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

महासभा आवाजहरूको / मुकुल दाहाल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

भीमकाय पर्खालहरू च्यातेर
घेराहरू बाहिर निस्केका
सुमधुर, कर्कश, तीखा
आवाजहरूको महासभामा
मलाई थाहा छ
मेरो आवाज पनि उपस्थित छ ।

पहाडबाट तल ओर्लदै गरेको झर्नाको
आवाज केही बोलिरहेछ ।
सडकमा वेगवान् सवारी साधनहरूका
आवाजहरू एकअर्कालाई घचेटिरहेछन् ।
आकाशमा उडेको वायुयानको आवाज
उचाइको गर्व गरिरहेछ ।
फ्याक्ट्रीमा मेसिनको आवाज
भकभकाइरहेछ ।

चराहरूको कलरव
जीवजन्तुहरूको स्वर
रातमा कीराहरूको किरिरि
सुन्दर यौवनाहरू झैँ उपस्थित छन् ।
सभामा अचल अवस्थाबाट
प्रस्थान सूक्ष्म आवाजहरू पनि छन् ।
अघाएर डम्म आवाजहरू
भोकले चाउरिएका आवाजहरू
कहिल्यै नमर्ने मृदु आवाजहरू
आफ्ना आफ्ना कक्षमा वाचाल छन् ।

आवाजको महासभामा
महाशक्तिहरूको आवाज
समुद्रमा छालजस्तो उठिरहेछ ।
मलाई थाहा छ
मेरो स्वर पनि उपस्थित छ त्यहां ।
तर म चिन्न खोजिरहेछु
कुनचाहिं हो मेरो स्वर ?
कुनचाहिं हो मेरो आफ्नो स्वर ?