भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

माकुरा / गोपी सापकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

एकान्तले पोलेको एक साँझ
जब म ह्व्स्किीको गिलाससँगै
जीवन खोजिरहेको हुन्छु –
कसैको ल्याप नपाएर एक्लै टेबुलमा
झोक्राइरहेको ल्यापटपमा;
एउटा खैरो माकुरा
आफैले बुनेको जालबाट
बाहिरिने बहाना खोजिरहेको हुन्छ
सिलिङ्गको एउटा कुनामा ।

जब म माथि हेर्छु
माकुरा
कुनै कुरा नगरी
सिलिङ्गको कुनामा
बुन्दै गरेको आफ्नो जाल छोडेर
विस्तारै झर्छ तल
भित्ताबाट तल
तल तल ।

अवतरण गर्छ ऊ टेबुलको रनवेमा
दुगुर्छ एकछिन, र टक्क रोकिन्छ
जसरी उत्रेको थियो त्यो दिन
एउटा बोइङ्ग हिथ्रोको रनवेमा
दुगुरेको थियो मेरा आशाहरुसँगै,
र टक्क रोकिएको थियो ।

माकुरा हेर्छ चारैतिर,
र देख्छ मेरो ह्व्स्किीको गिलास ।

रङ्गले हो
कि गन्धले
कि पग्लिंदै गरेका
ती आइसका कलात्मक ढिक्काहरुले
ऊ आकर्षित हुन्छ
र विस्तारै सार्छ
उसका ती सम्मोहित पाइलाहरु मेरै गिलासतिर ।

छोऊँ कि नछोऊँ दोधारमा,
हेरिरहन्छ
हेर्दा हेर्दै टक्क रोकिन्छ ।

कुनै अनुमति बिना –
सुँघ्छ ह्व्स्किीको गन्ध
र, एकाएक चढ्छ
मेरो ल्यापटपको स्क्रिनमा निर्धक्क
मानौं, ऊ आफ्नै जमीन टेकिरहेछ ।

सायद उसलाई पनि लाग्दो हो
एकान्तको जलन
ह्व्स्किीले मेटाउँछ
कि त
इन्टरनेटमा खोज्दै गरेको
कुनै एउटा समाचारले ।

माकुरा
उभिएर कम्प्युटरको स्क्रिनमा
एक टक हेर्छ मेरो ह्व्स्किीको गिलास
र पढ्छ मेरो अर्गानिक अनुहार ।


स्क्रिनमा समाचार खोजिरहेको हुन्छु –
ती दुःखद निराशाका समाचारहरुभित्र
एउटा समाचार
मात्र एउटा समाचार
मात्र एउटा सुखद समाचार
मात्र एउटा प्रिय सुखद समाचार
जसले ममा एउटा आशा भरोस्
फर्काओस् मलाई मेरै देशमा
मेरो जन्मभूमिमा ।

माकुरा
एकाएक झर्छ कम्प्युटरको स्क्रिनबाट तल
हेर्छ मेरो ह्व्स्किीको गिलास
छिर्छ मैले रित्याइसकेको त्यो गिलासभित्र
रित्याउँदा रित्याउँदै रित्याउन नसकेको
ह्व्स्किीको थिग्रो चाट्छ ।

विस्तारै विस्तारै
माकुरा मन्द मन्द मात्दै जान्छ
लरबराउँदै लड्छ
तर चढ्छ ऊ फेरि कम्प्युटरको उकालो
सर्दै जान्छ ती अक्षरहरुमा
पढन थाल्छ ती समाचारहरु इन्टरनेटमा
तीनै समाचारहरु –
अशान्ति र युद्धहरुका, बम र बारुदहरुका
रगत र घाउहरुका, दु:ख र दर्दहरुका ।

अनि म उठ्छु
विस्तारै छाम्दै तीनै भित्ताहरु
जहाँ बुन्दै थियो जाल माकुराले,
अनायास बुन्न थाल्छु म त्यही जाल,
जो बुन्न छोडेर माकुरा पलायन भइसकेको छ ।

बुन्दै जान्छु म
फस्दै जान्छु म
बुन्दै बुन्दै जान्छु म
फस्दै फस्दै जान्छु म
आफ्नै जालमा
पलपल, हरेक पल ।

०००