मातृभूमि / इमोजित निङ्गोम्बम / सुमन पोखरेल
स्वतन्त्रता, तिमी कहाँ छौ ?
तिमीलाई खोज्दै हिँड्दा
जहाँतहाँ मैले
भर्खरै निर्मित चिहानका वरिपरि
बिछोडिएका नायकहरूका
आत्मालाई जागाउँदै
फूल छर्दै गरेका विधवाहरूलाई भेट्टाएँ ।
जीवनसँग खेलबाड गर्दै
आनन्दित भएर परेवाहरू उड्नुपर्ने आकाशमा
गोलीहरू नाच्ने गर्दछन् ।
हरेक ढोकाअगाडि निस्पट्टताका विरुद्धमा युद्धरत
हजारौँ आमाहरूले हातमा बोकेका दियालाहरूलाई
रातको अँध्याराले निल्दछ ।
मेरो हृदयलाई चमक दिने
शान्तिको ज्वाला
मधुरो हुन थालेको छ ।
रात बितेपछि
सूर्यका किरण धरतीमा ठोक्किनुअघि
तिनीहरू तैयार हुनेगर्छन्
आफ्ना बाटामा आउने हरेक मानिसलाई
चिहानको चौघेरातिर खेद्नका लागि ।
के यी मानिसहरूलाई
उनीहरूका आ-आफ्ना चिहानभित्र पस्नुअघि
बाटाका दुबैतिर छरिएका चिहानहरूलाई साथ लगाएर
स्वतन्त्रताको पथमा धेरै टाढासम्म हिँड्नुपर्ने हुन्छ ?
स्वतन्त्रता, म पनि तिम्रो खोजी गर्छु ।
तर अहँ, म कहिल्यै चाहन्न
बाटाछेउमा भेट हुने चिहानप्रति प्रेमासक्त हुँदै
स्वतन्त्रताको बाटो पार गर्न ।
स्वतन्त्रताका बारेका सोच्दा
मेरो जिउ थर्थराउन थाले पनि
मातृभूमिका बारेमा सोच्दा
मेरो हृदय उफ्रन थाले पनि
मेरो सपना अझै जीवित छ
एउटा स्वतन्त्र मातृभूमिको ।