भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मानिसको जङ्गलबीच रुँदै हाँसेको छु / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सहर
 
मानिसको जङ्गलबीच रुँदै हाँसेको छु
आफ्नोपनको खडेरीमा एक्लै बाँचेको छु
 
ओरालो छ बाटो यहाँ बग्छ स्वप्न जति
स्वतन्त्र छन् मान्छे तर छैन तिनमा गति
आँधीबेहरी चल्छ यहाँ सुख-शान्ति लान्छ
बन्नै नपाई सुन्दर माला चुँडिएर जान्छ
 
दुखिरन्छन् छातीभित्र विकृतिका घाउ
हिलोभित्रै लर्खराउँछन् उठ्न खोज्ने पाउ
निराशाको कालो बादल सधैँ मडारिन्छ
मीठो स्वप्न आँखाबाट सधैँ बढारिन्छ ।