माया हैन भन्न सक्दिनँ / सुमन पोखरेल
मेरा चोटका गीतहरूमा
तिम्रा खुशीका सङ्गीत हाली
कोही गुनगुनाउँछ मेरो वरिपरि।
त्यो तिम्रो प्रतिविम्व हैन
भन्न सक्दिनँ म ।
हिजोभन्दा अलिक बढी
सायद भोलिभन्दा अलिकति थोरै
दुखेको छ मुटु यसबेला ।
मेरा छातीका बिझेका काँडाहरू
मायाको एउटा रूप हैन
भन्न सक्दिनँ ।
पहिरो गएका
विकराल
ढुङ्ग्यानजस्ता मेरा परिवेशभित्र
कतै तिम्रै कथा बोल्दैछ
एउटा अनुभव ।
जो
अभिव्यक्ति नपाई
सङ्कुचित भएर निसास्सिरहेछ
अलिकति तिम्रो मभित्र
अलिकति मेरो मभित्र ।
एउटा उन्मुक्त परिवेशको कुण्ठित लुप्त चाहना बोकेर
एउटा आकाशको अभिलाषा
जुन
बादलपारि यही ठाउँमा
गरेथ्यौँ अनुभव
हराएर आपसमा ।
हराएको छैन
त्यो अनुभूति, त्यो अनुभव
त्यो मौनताको स्पर्श, त्यो स्पर्शको सङ्गीत।
एकछिन आँखा चिम्लिए
यहीँ छ, मौन बसिरहेको
आँखा पूरा खोल्दा, यहीं छ
अगाडि
तिम्रो र मेरो
मुस्काउँदै खेलिरहेको ।
यस्तै एउटा आकाशको छेउमा
भीरको एउटा ढुङ्गामाथि
एउटा सागरको वरिपरि
केही नदीको मझधारसरह
वा झर्ना वा त्यस्तै केहीजस्तै
गुनगुनाइरहेछ मेरो वरिपरि ।
त्यो तिम्रो मोह हैन
भन्न म सक्दिनँ ।
वर्षापछिको केही बेरको एउटा बेला
निर्मल आकाशमा
तुँवालोविहीन स्थिर हावा पारी
अज्ञात कसैले धूँवा लगाएर
बादल बनाउन खोजिरहेजस्तो ।
अझ पारिपट्टि
अझ टाढा
हिमालको चुचुरोछेउ
चिसो हावामुनि, हिउँमाथि
छातीभित्र;
एउटा मुटुले
केही ढुकढुकी
केही शब्द
केही वाक्यबाट
गुथेको छ माला एउटा ।
अपूर्ण माला उत्कण्ठाको
नपाएर अभिव्यक्ति ।
जसले
पोखरी बनाएको छ
पोखरी सुकाएको छ
आँखामा
हावा झैं हुँदै भएर
पानी झैं भएर।
दृष्टि टोलाएको छ
क्षितिजपारिको एउटा मिलनमा ।
आँखाको त्यो टोलाइ
लट्याइ, विक्षिप्तता
एकाग्रता, त्यो नियमितता
तिम्रो माया हैन
भन्न म सक्दिनँ ।