भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मास्टरजी / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

बोके दाढी चुस्स परेको सानो चिउँडोको आधार
तहलाइन्छन् काला जूँघा दुइ औंलाले वारंवार
हात दाहिना बेत छ लामो अथवा चड्कनच्यूरा
लुले लुले भै दहरा चड्कन दिन सक्छन् ती एक हजार ।

आँखासाँखा सकल बिगारे अक्षरहरूले काला सार
चक्का काँच लगाई दोटा जिनतिन देख्छन् ती संसार
ज्यादै घाम परीकन मुखमा ट्यूशन गर्दा तीन हजार
काला हाम्रा मास्टरजी छन् तर सुइँखुट्टे सारसंसार ।

पतलो जिभ्रो टपटप गर्दछ लालमुसा झैं छरितो चाल
बोझा झुक्छ किताबहरूको विचारहरूका लिन्छन् याल
लाग्छ शनैश्चर मंगल धेरै बन्छन् भृकुटी भीम कराल
पाठ नघोक्ने लडकाहरूका कान र गालाहरूका काल ।

सारङ्गी झैं पेट छ खोक्रो ताजुबको यो कस्तो बात
त्यसमा टम्म छ पुस्तकहरूको ठेलठेली डाँडा खात
त्यत्रो सानो शिरमा बस्ने भारी भारी कत्रा बात
त्यत्रो सानो मुखको भित्र लबजहरू छन् तेतिस हात ।

छैन नजानेको केही नै कण्ठ छ पृथिवी सब भूगोल
सक्छन् सहज बताउन कण्ठै शहर र पेरिस, लंडन टोल
संस्कृत सोधे मात्र उ भन्छन् 'भो भो झर्को लाग्छ नबोल'
पढाउँदा तर उनले किन हो चक्कर बन्दछ खप्पर गोल ।