भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

मृत्युको ढोका / विष्णु न्यौपाने

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


सूर्यको रोशनी धर्तीमा नखस्तै
ऊ पसलको ढोका खोल्छ ।
बढार्छ, , टक्टक्याउँछ , पुस्छ र रुग्छ
द्रवित सपनाको आशाको खेती ।
आशाले तरङ्ग ल्याउँछन्
तरङ्गले आशा जन्माउँछन् पनि ।
तर, आशा र निराशाको मौसमी बदलावले
निरन्तर जन्माइरहन्छन् अनुहारमा उसका
बदलिंदा मौसमी रंगहरू
बिक्री सप्रिए खुसीका रंगहरू
बिक्री बिग्रिए स्वास्नी छोराछोरीमा बर्षने
गालीका रंगहरू ।
ऊ बोल्छ विक्रीले तौलिएको मुढ फिंजाएर
स्वास्नी बोल्छे उस्ले फिंजाएको मुढ तौलिएर ।
जे होस् मुडमै ऊ खान्छ कर्मका गाँसहरू
पिउँछ सपनाका रातहरू ,
र नियाल्दै मध्य निन्द्राका सन्तानहरू
लमतन्न हुन्छ ऊ थकानमय मुद्रामा ।

थाक्तैन बेचेर ऊ अझै
सपना भरि– भरि तिनै पसलका सामग्रीहरू,
दिन भरिका दलाल ग्राहकहरू सँग
बोल्छ, हाँस्छ, निधार खुम्च्याएर बर्बराउँछ ।
ऊ हाँस्ता उसको हँसिलो अनुहार हेर्दै
उसकी स्वास्नी पनि हाँस्छे
क्रोधले अनुहार खुम्च्याउँदा
आफैं एक बार खुम्चन्छे र
लोग्नेलाई झक्झकाउँछे ।

दृष्टि र गोडाका चालहरूमा पलाउने आशाका पिपिराहरू
बटुवाका पदचापले निर्धारण गर्ने खेतीका टुसाहरू
नियाल्नु र पछ्याउनुमा दिनचर्या व्यथित हुन्छन्
नियालिरहन्छ ऊ चौबाटाका पाइलाहरू,
कतै आफूतिरै मोडिने आशामा चनाखो बन्छ ऊ,
उठ्छ र सक्रियताको अनुभूति गराउँछ ।
स्वागतको अनुभूति गराउँछ ।
अनुहारमा मन्द मुस्कान फिंजाएर
भान बनाउन खोज्छ ग्राहकका मानसपटलमा
चिरपरिचित अनुहार झैं आफूलाई ।

हाँस्नु बाध्यता छ उसमा, टाउकै दुखेको भए पनि
बोल्नु बाध्यता छ उसमा, स्वरै सुकेको भए पनि
डिड्ठा वा विचारी,
प्रशासक वा कर्मचारी,
समदृष्टि छ उसमा एउटै उच्च नाता ‘ग्राहक’ को ।
एउटै ध्येय छ उसमा ‘किनाउनु’ को
सबैलाई एकै रङ्गले रङ्गाउने पसल पुजारी ऊ,
जीवनका रङ्गहरू नचिन्दै
आफ्नै मृत्युको ढोका खोल्छ ।
सूर्यको रोसनी भुईँमा नखस्तै
ऊ मृत्युको ढोका खोल्छ ...।