भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मृत्युको हस्ताक्षर / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुकेका परेलीमुनिको खडेरीमा
सारा वर्तमान डुबाएर आएकी छु
उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु ।

साटेर एक जिन्दगी सपना
एक आकाश मृत्यु ओढेकी
ती मेरी एक्ली आमाको जीवन
भर्खरै सल्काएर आएकी छु
गर्भको गर्वले रोमाञ्चित तिनको सम्झनामा
आफ्ना लाचारीका
केही थोपा विष मिसाएर आएकी छु ।

आमाको जिउँदोपनासँग
वैरत्व पालेर हुर्केका सन्तानको आत्मरतिले
तथाकथित स्वाभिमानको
मैलो रूमाल हम्किएर आएकी छु
थाहा नपाउने गरी उनको सिरानीबाट
कैयन् शान्तिको निद्रा उडाएर आएकी छु ।

कहिलेदेखि गैर भएछु म
मिचेर जीवनको सिमाना
आफ्नै आमाको काखमा
सिउँडी रोपेर आएकी छु
उभ्याएर बेबारिसे दसगजा
झुक्याएर उनैलाई
मृत्युको हस्ताक्षर लिएर आएकी छु ।

उनको झोल्लिएको पोल्टामा
अड्काएर सम्पन्नताको ट्याग
वात्सल्यको सम्बन्ध खुकुलो बनाएर आएकी छु
अघाएर आफू अनन्त रोजाइका विकल्पमा
उनको चाहनामा आज पटुका कसेर आएकी छु ।

उनी वर्षात् पर्खिरहिछन्
म निथ्रुक्कै भिजेर आएकी छु ।