मृत्युपछिको अभिव्यञ्जना / बालकृष्ण सम
मेरी प्रिया, अब मलाई राम्रै निको भयो,
झरेको फूलको थुँगोभन्दा पनि
जीउ अझ शतशः हलुको भो,
अझ किन तिमी त्यस्तरी असार बजार गरी
रोएकी धत्,
मुटुकति घाइते भयो होला ।
देख्दिनौ वायुका सूक्ष्म तरङ्ग
तिम्रो विलापको आघातले टुट्दै चकनाचुर हुँदै छन्,
म त कण–कण देख्न सक्छु,
छियाछियामा घुस्न सक्छु
चुप लाग प्रिया,
मलाई माया गर्ने मान्छे, चुप लाग,
रुवाइलाई बौद्ध शून्यमा बिसाऊ ।
अब मलाई सन्चो भयो,
कुनै शूलले पनि घोच्दैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो वृथा मेरो बीचमा धूवाँ झैँ बत्तिनेछ,
किनभने अब म साह्रो ऐनाजस्तो होइन
आकाशजस्तै कोमल पारदर्शक भइसकेकोछु,
मेरो हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थेँ
तिम्रा आँखामा चुम्बन पोसेर
आँसु भुलभुल आउनेप्वाल टाल्थेँ
तर म आकाश भइसकेँ।
हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्दिनँ,
प्रकृतिको ऐना पोखरीमा निहुरी हेर्छु
त्यहाँ म आफूलाई आकाश मात्र देख्छु ।
प्रिया, के मलाई ‘मर्यो्’ भनिदियौ—
मर्योह भनिठान्यौ?
हो?
साँच्चै, म त्यस्तै तिम्रो निम्ति
काम नलाग्ने भएँकि क्या ।
केही विशेष घटना घट्यो होला पनि
परिवर्तनको अनुभूति हुन्छ,
अग्निपरीक्षामा उत्तीर्ण भएको झझल्को लाग्छ,
हो, अब मलाई कतै पनि दुख्दैन
मेरो मन पनि दुख्दैन—
मन राख्ने ठाउँ नै कहाँ छ र—
सब उदाङ्ग/निर्वाङ्ग ।—
मेरा इन्द्रिय जे–जेमा पर्छन्
त्यहीँ–त्यहीँ तल्लय हुन्छन्,
म पात देख्नासाथ पातै हुन्छु,
त्यसको सुस्केरामा डुब्छु,
फूलको वर पर्नेबित्तिकै त्यसको सुवासमा वास बस्छु,
जुनसुकै रङ्गमा पनि मिल्ने
मेरो यस्तो गति भइसक्यो—
उडेको छारोभन्दा मैदा—
वाष्पभन्दा पातलो—
तेजभन्दा मसिनो—
हावाभन्दा पनि मिहिन ।
एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो,
सरोवरमा सरोबरी हुनासाथ
त्यो सरोवर भयो।
म आकाश भएँ।—
बादल फाटेको नीलनभ सङ्लिएतुल्य
म तङ्ग्रिएँ,
म निको भएँ।
तिम्रो वरिपरि रुनेअरू पनि
मेरा बान्धव इष्टमित्र छन्,
ओहो, त्यो किन त्यस्तरी रोएको
ममा त्यसको त्यति माया रहेछ, मलाई थाहै थिएन,
बरु अर्को त्यो जति रुनुपर्ने हो उति रोएको छैन