के तँ नदेखिने गरी
चालमारेर आउँछस्
र मलाई एक्लै पारेर सुँघ्छस् ?
के तँ मेरा आँखाका ढकनीमाथि तुर्लुङ्ग झुन्डिएर
निद्राको वेशमा आउँछस्
र मलाई थुम्मुम्याएर
सधैँका लागि निदाएको निदाएकै बनाउँछस् ?
के तँ आफ्ना सबै प्रभुत्वसहित
मेरा चञ्चल वेदनाहरूलाई हकार्दै
पीडादायक रोगहरूले मलाई जिस्काउँदै
र मेरा चेतनाहरूलाई एकएक गरी मार्दै आउँछस्?
वा केही नभनी आउँछस् तँ
सघैँकै जसरी–
जब मलाई जीवनको सबैभन्दा ज्यादा आवस्यकता परेको हुन्छ
जब म आफ्नो क्षितिजलाई फैल्याउन चाहिरहेकी हुन्छु
जब म मेरो अमरत्वलाई तन्काउन खोजिरहेकी हुन्छु ।
दया गरेर भन्दे मलाई,
कहिले आउँछस् तँ
र, कसरी आउँछस् ?
.........................................................
(अङ्ग्रेजीबाट सुमन पोखरेलद्वारा अनूदित)