भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरी आमा / पी. लङ्केश / सुमन पोखरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरी आमा,
उर्वर कालोमाटो जस्तै आमा
हरिया पातहरू, सेता फूलहरूको उत्सव;
प्रत्येक चोटबाट अझ बढी उर्वर ।
प्रत्येक दुखाइबाट
अझ बढी फल र फूलहरू।
उनका गोडा थर्थर कापेँ;
आफ्नो शिरको डोको ढालेर
उनी चिच्याइन्, आखाँ चिम्लिइन्, र फेरि कहिल्यै खोलिनन् ।

उनले कयौँ मुरी कोदो फलाइन्
बालाई खुशी पर्नका लागि
र हात पारिन् पाखुरामा लगाउने एक जोर कल्ली;
बारीका प्रत्येक डल्लालाई सिञ्चेर
खुर्सानी, केराउ, कोदो, र अन्नका लागि
आफ्ना हातले बारी जोतिन् उनले:
फूलसँगै फुल्दै, फलसँगै फल्दै
गरिरहिन् बारीको रेखदेख
साडीको झुत्रो मै बिताइन् आफ्नो सम्पूर्ण यौवन।
स्वर्गे भइन्, गइन् उनी”
कति थियो घुँडामुनिसम्म टाउको पुर्‍याएर कुप्रिएकी ती बूढीको उमेर?
कति वटा वसन्तहरू र
कोइलामा रोटी पकाएर खाने कति वटा पर्व?
कतिपल्ट रोएकी थिइन्, यी नारी
पैसाका लागि, मरेको बच्छाका लागि, र अन्नपात खेर जाँदा?
कतिपल्ट कुदेकी थिइन्, फुकेर गाउँभरि कुदेको भैँसी सँगसँगै?

हैन, उनी सावित्री थिइनन्
न त सीता वा उर्मिला नै,
इतिहासको किताबमा वर्णन गरिएकी विराङ्गाना थिइनन्,
सुखी, सुन्दर, गम्भीर प्रतिष्ठा प्राप्त

न त गान्धी र रामाकृष्णका पत्नीहरूजस्तै नै थिइन्।
देवताको पूजा गरिनन् उनले
न त पौराणिक कथाहरू नै सुनिन्,
असल श्रीमतीको जस्तो
दुई आँखीभौँका बीचमा सिन्दूरको टीकासमेत लगाइनन् उनले कहिल्यै।

एउटी जङ्गली प्राणी
सानाहरूको बच्चा धारण गरिन्,
उनले पतिलाई हुर्काइन्,
सप्कोको गाँठोमा पैसा जोगाएर राखिन्;
चोट खाएकी कुकुर्नीजसरी, दाँत ङिच्याइन् उनले,
गर्जिइन् र युद्ध लडिन्।

तुच्छ, बाउँठी, र बाँदरले जसरी चिथोर्न तयार थिइन् उनी;
एक मात्र नियम थियो उनको - जसरी हुन्छ परिवार चलाऊ
रीसले आगो हुन्थिन् उनी
छोरो बरालिन थाल्यो भने,
वा पति अन्त लागे भने ।

कुनै जङ्गली प्राणीलाई गीता चाहिँदैन।
मेरी आमा बाँचिन्;
दाउरा र अन्न, र परिश्रम र छोराछोरीका लागि
टाउकामाथिको छानाका लागि
भात, रोटी, र ओढ्नेओछ्याउनेका लागि
र जोरीपारीसँग टाउको ठाडो पारेर हिँड्नका लागि ।

प्रशंसा, आँशुहरू, कृतज्ञता
हामीलाई हुर्काएकोमा;
माटा र हिलामा बाँचेकामा,
उनी जसरी बाँचिन् त्यसरी बाँचेकामा।
बारीमा जान घरबाट निस्किएजसरी
सधैँकै जस्तै शान्त,
बोल्दाबोल्दै बीचैमा ।