Last modified on 24 नवम्बर 2016, at 09:25

मेरी छोरी धेरैको सराप खाएर जन्मेकी छे / प्रोल्लास सिन्धुलीय

सायद म पनि
तिनै अभागी बाबुमध्येको थिएँ
जसलाई छोरी जन्मेकामा
बधाई कम, समवेदना ज्यादा प्राप्त भइरहेको थियो ।

पीडाको मुक्तिका लागि
पीडाकै कामना गर्नुपर्दोरहेछ कहिलेकाहीँ
त्यस साँझ
म बाबु बन्न आतुर थिएँ
असाध्यै माया गरेकी मान्छेको
पीडाको उच्चचित्कार सुन्न नपाएर
ढोकाबाहिर छटपट–छटपट गरिरहेको थिएँ म ।

धेरैपटक
छोरो र छोरीको द्विविधामा पर्न नचाहने श्रीमतीको अघिल्तिर
मैले उद्दण्डतापूर्वक मागेको थिएँ – छोरी !

‘बाबु बन्न लागेको मान्छेले
काटमार गर्नुहुँदैन’ भनी लगाइएका
प्रतिबन्धहरू भत्काइएको थियो
‘तेरो छोरै होस्’ भनी गरिएका
प्रशस्तै
शुभकामनारूपी सरापहरूको प्रतिकार गरिएको थियो
म बिल्कुलै नास्तिक मान्छे
सुरुआतमै
आफ्नै कुलदेवताको अघिल्तिर
चोरऔँला ठड्याएर भनेको थिएँ –
‘छोरी जन्मी भने अर्को वर्ष
बोको चढाउन आउँला
छोरै भयो भने सम्भवतः फर्केर आउनेछैन ।’

यदि आस्तिकतामा
अलिकति पनि दम छ भने
म ठोकुवा गरेर भन्छु
देवताहरू निश्चय नै लुब्धा हुँदारहेछन्
कुनै रक्तबलीको,
कुनै पूजाथालीको,
कुनै आरती/अनुष्ठानको ।

छोरी जन्मेको साँझ
मेरा खुसीहरूको बाँध भत्केको देखेर
कसैले मलाई प्रश्न गरेको थियो –
‘धेरै छोरीहरूपछिको पहिलो छोरा हो ?’
मैले भनेको थिएँ –
‘निश्चय नै !
यो हामी बाबुआमापछिकै पहिलो छोरी हो ।’

छैटीको रात
हामीले आँखा झिमिक्क नगरी गुजा¥यौँ
यसकारण कि
हामी हाम्री छोरीको भाग्य
कुनै पापी दैवको हातबाट लेखाउन चाहन्नथ्यौँ
त्यो खालि नै रहिरहृयो भने कुनै दिन
हाम्री छोरी आफैँले लेख्नेछे – आफ्नो भाग्य ।

मेरी छोरी धेरैको सराप खाएर जन्मेकी छे
त्यही सराप खान पाएकीले नै
ऊ भाग्यमानी पनि छे ।

००
(छोरी जन्मिएपछि)