मेरो कथा / विक्रम सुब्बा
मेरो मायाको रुमालमा कसैले 
आफ्नो मतलबको फूल भर्यो  
सग्लो मेरो मन भाँचेर
आफ्नो धुन बजाउने बाँसुरी बनायो 
मेरो सपनाको ऊनी धागो उधारेर 
आफ्ना लागि न्यानो स्विटर बुन्यो 
मेरो इज्जतको लम्बाइ समेटेर
आफ्नो घमन्डको पगरी बनायो 
मेरो कविता लेख्ने कलम समाएर
मेरै मुस्कानलाई थुन्ने जेलको नक्सा बनायो 
दुःखमा सँगै बसी खिचेर टाँगेको हाम्रो तस्बिरलाई
भित्ता समाउँदै भुइँबाट उक्लेको चिसो ओसले छुन थाल्यो।
मेरो छातीको ढुकढुकी निकालेर 
आफ्नो घडीको समय दिने टिकटिके बनायो 
मेरा हार्दिक र इमानदार प्वाँखहरू लिएर 
आफ्नो स्वार्थको घोडालाई बाइपङ्खी बनायो 
मेरो धैर्यको ह्रयाकुलो लिएर 
आफ्नो कालो टाउको बिसाउने सिरानी बनायो 
मेरो विश्वासको आरनमा हालेर 
आफ्नो पित्तलको ह्दयलाई सुन बनायो 
मेरो भक्कानो फुटेर निस्केको गीतलाई 
आफ्ने व्यक्तित्व टल्काउने पालिस बनायो 
हाम्रो तस्बिरको फलामे फ्रेमलाई
अदृश्य खियाले बिस्तारै–बिस्तारै खान थाल्यो।
 
मेरो ह्दयको डुङ्गा खियाएर 
आफ्ना लागि असला माछा मार्योि
मेरा आँखाको नर्सरीबाट उज्यालोको बिरुवा उखेलेर 
सम्बन्धको उपत्यकामा अँध्यारोको खेती गर्योर 
उसलाई आफ्नै मुटु बनाएर राखेको अपराधमा 
मलाई काटेर मबाट उसले आफूलाई बाहिर निकाल्यो 
जमानाको अनुहारमा अनौठो रगत–आँसु पोतियो ।
यो कथा बिस्तारै वातावरणमा फैलिएछ
धमिलो भएको मानवीय मानचित्र सुस्त–सुस्त हल्लिइरह्रयो।
	
	