मेरो कविता / निमेष निखिल
अविचल र्सूय मेरो कविता
कसैको हत्केलाको छेकवारले छेकिन्न
कोसीको अजस्र बहाव मेरो कविता
कसैको निर्धो रोकाइले रोकिन्न
मेरो कविता अतृप्त रहरहरूको महागाथा हो
मेरो कविता अटल आस्थाहरूको सगरमाथा हो ।
अवरोधमा उभिएका तगाराहरू छिचोलेर
उदास मनहरूमा झुल्कन्छ मेरो कविता
मझेरीदेखि माटोसम्मको यात्रामा
निराकार बुद्ध खोज्छ मेरो कविता
मेरो कविता आलो रगतको रक्तिम सौर्न्दर्यमा रमाउन सक्दैन
समस्यैसमस्याले गिजोलेको वर्तमानमा
व्यथाका विदारक सन्देश सुनाउन
तिम्रो हुलाकी बन्न सक्तैन मेरो कविता ।
मेरो कविता आफ्नो गरिबीको तस्बिर खिचेर
तिम्री मायालुलाई उपहार दिन सक्तैन
शोकमहोत्सवमा ह्विस्की पिएर
डिस्को नाच्न सक्तैन
अनास्थाको कालरात्रि निम्त्याउन मेरो कविता
आफ्नै आस्थाको र्सूय निभाउन सक्तैन
सपनाहरू बन्दकी राखेर
निस्फिक्री निदाउन पनि सक्तैन मेरो कविता ।
खग्रास मनहरूमा मेरो कविता
भावनाका बिम्बहरू रोप्न चाहन्छ
भाइचाराका प्रतीकहरू उमार्न चाहनछ
बदलामा केही हैन
विस्थापित विश्वासहरू पुनर्स्थापनको हेतु चाहन्छ
मनदेखि मनसम्मको सेतु चाहन्छ
मेरो कविता ।