मेरो कविसँगको प्रेमप्रसङ्ग / सविता गौतम दाहाल
वषौं भइसक्यो कवि हराएको
खोज्न निस्कने सोच आएपनि
यति सक्छु अनि जान्छु भन्दाभन्दै
फुर्सद मिलेन भातभान्साले
आज त आफुभित्रको जङ्गल पसें।
मेरा कवि त घना जङ्गलभित्र
एउटा पिपलमुनि
साधनारत रहेछन् तपस्वी वनेर
मायाले ओतप्रोत भएँ
जलकुण्ड छचल्क्यो मनभित्र ।
ध्यानमग्न कविको समिपबाट
अव कतै जान सक्दिन्
छेउछाउ सफा सुग्घर बनाएँ
आफुभित्र अथाह प्रेम अनुभूत गरे
त्यसै म लठ्ठिए
र छेवैमा निदाएँ ।
भारैभारले थिचिएकी म हराउँदा
हुनसम्मको खलवली मचिएछ
मलाई खोज्न आउनेले
मभित्रको कवि वाल्मिकी देखेपछि
अव त भीड लागिहाल्यो
ठेलावालाले जङ्गलमा
बाटोनै बनाईहाले ।
म व्यूझँदा त
मेरो वरिपरि गोलाकार भीड पो देख्छु
एकोहोरो हेरेकोहेर्यैु हुन्छु
मेरो प्रेमप्रसंग जति लुकाएपनि
व्यापक भएछ
म लाजले भुतुक्क हुन्छु ।