मेरो छानामाथिको नीलो आकाश / शुभ श्रेष्ठ
मेरो छानामाथिको आकाशले
चुपचाप हेरिरहेछ
पृथ्वीको उकुसमुकुस बाफिएको अनुहार
धरती फाटिरहेछ खण्ड–खण्ड हुँदै
मेघराशिहरू दौडिरहेछन् यत्रतत्र
मेरो छानामाथिको नीलो आकाश
बादलको पर्दाले ढाकिदियो
पृथ्वीको बाफिएको अनुहार
छियाछिया भएर फाट्यो
आकाशले नियालेर हेरिरहेको छ
भोकले मौनता छाएको छ
अतीतले घचघच्याउँदा
वर्तमान त्यसै तर्सन्छ
दरिद्रताको सङ्केत गर्दै
भिखारी त्यहाँ उभिन्छ
चारैतिर मौनता छ
मेरो छानामाथिको आकाश
मौन छ
धरती मौन छ
आक्रोश मौन छ
भोक मौन छ
अतीत मौन छ
वर्तमान मौन छ
मेरो छानामाथिको नीलो आकाश मौन छ
विश्वास मौन छ
आस्था मौन छ
संस्कार मौन छ
आँखाले टुलुटुलु हेरिरहेछ
आँखाको नानी मौन छ
परेलाहरू मौन छन्
आँसुका थोपाहरू मौन छन्
मेरो छानामाथिको आकाश मौन छ
म मौन छु
मेरा आस्था र विश्वासहरू मौन छन्
मेरा क्षितिज र परिधिहरू पनि
मौन छन्
मेरो छानामाथिको आकाश मौन छ ।