मेरो छोरो अनि म / मनप्रसाद सुब्बा
मेरो छोरो जन्मेकै दिन
म – उसको बाउ – जन्में l
चौथो दिन न्वारानमा
फेदाङमाले उसलाई सङ्घारबाट संसार देखाउँदा
उसको शिशुस्वरले मेरो कानमा
पालामको भाका फुस्फुसाइरहेथ्यो यसरी –
‘बाउ !
यस्तै छ है संसार हाम्रो
हेर्दामा राम्रो
छाम्दामा चाम्रो l’
अनि म बढ्दै गएँ छोरोसँगै...
उसले बामे सर्दा
मैले पनि चार हात-पाउ टेकेर
धरती छाम्न सिकेँ
उ हिंड्ने भएपछि
मेरो हातको औँला समातेर उसले मलाई
संसारभित्र पस्ने बाटो र गल्लीहरू चिनाउँदै डोर्यायो
उ अक्षर चिन्ने भएपछि
म पनि अङ्क चिन्ने भएँ
उसले जति पाठ छिचोल्दै गयो
मैले पनि उति नै
दुनियाँको परिपाठ बुझ्दै गएँ
यसरी हामी दुवै
जम्ले जस्तै एकसाथ हुर्कँदै गयौं.. हुर्कँदै गयौं..
अनि एक दिन
उसले आँगनमा उभेर हठात् घोषणा गर्यो –
‘म निस्केँ अब तपाईंको छायाँबाट..’
त्यसबेला उसको स्वर अर्कै नौलो लाग्यो
उसको अनुहार पनि एकदम बेग्लो लाग्यो l
मलाई छोडेर जानलाग्दा
मैले उसलाई ठूलो स्वरमा भनें –
‘तर अब म तिम्रो छायाँमा हुनेछु !’
अनि उ गएको हेर्दै
म मुसुमुसु मुस्कुराइरहें...