भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मेरो ढाडमा अहिले मैले कञ्चनजङ्घा बोकेको छैन / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मेरो ढाडमा अहिले मैले कञ्चनजङ्घा बोकेको छैन
धूपीका उकाली-ओरालीहरू चियाका बुट्टाका
भार पनि छैनन्
म स्वतन्त्र छु,
ती बाँझा बालुवा जस्ता मेरो खालिपनमा
मेरो ढाडमा आकाशहरू बोकेको छैन,
क्षितिज पनि छैनन्
म पाहाडहरूलाई रुखका पातहरूमा सिँगारेर हेर्ने गर्नेछ
सागरका सबै गहिराइलाई यिनैकै उचाइमा सोच्ने गर्नेछु,
मेरो विरक्त स्वरहरू प्रतिध्वतित हुँदैनन् अब,
अब म मेरा स्वप्नहरू बकैनाका रुखहरू र
आरुका फूलबाट ब्यूँझनेछु ।

कति खोलाहरू बगिसकेका छन् यहाँ पनि
अब म मेरा क्रान्तिहरू बगरका शून्यहरूबाट बाँच्नेछु
अँजुलीका आगोहरू खोई
खोई शपथ र प्रणहरू हामीले गरेका
मेरा पुराना आँखीझ्यालहरूदेखिन् तिमीलाई हेर्ने गर्नेछु
मैले नपाएका बिदाइहरूलाई सधैँ संचयन दिनेछु ।

मलाई अब पुरानो हुन मन छ
पुराना खण्डहरहरू जस्तै
हामीले मरेका
शायद म दूबो छु, जिउनेछु
मैले लगाएका दागहरू नपुछ्नू
त्यहाँ सृजना हेर्ने इच्छा छभनेकै हुँ,
ओहो ! यी उभिन खोजिरहेका आँखाहरू, दृष्टिहरू
यी बलिवेदीमा बलि हुन पर्सिरहेका मेरा मासुहरू
टीका लगाइरहेका बाध्य काष्ठको सन्मुख मेरा टाउकाहरू
मैले लेखेँ
तैपनि मेरा सडकहरूलाई भनिदिनू
त्यहाँ अरूलाई कुल्चिन नदिनू
यी पश्चिमबाट जाने यात्रीहरूको जहाज पर्खिरहून्
तिनका गजुरहरूमा अर्कै नयाँ पतका हुने सम्भावना छ
हावा पनि त प्रतिकूल बग्ने छैन ।
म त्यहाँ बिहान एक फेर ब्युँझेको थिएँ
यहाँ त्यसरी नै एकफेर ब्यूँझने कुरा गर्दै छु
त्यस बेला जहाज आइपुग्नेछ
पश्चिमबाट हावा बगिसकेछ
मैले हिँडेका पाइतालाहरूलाई
आउने यात्रीले फेरि गन्नेछ ।
मैले मार्नेहरूलाई मैले चिनेको छैन
कहीँ देखेको छैन
शायद मलाई कसैले मार्नेछैन,
मारिहाले केही हुनेछैन,
म मेरै सङ्घारमा मर्नेछु
साथीहरू ! त्यसैले धरोधर्म !
कञ्चनजङ्घाको शपथ
अहिले मलाई सञ्चै छ ।