मेरो परिवेशमा / सुमन पोखरेल
रातभरि
अफ्ठ्यारा निद्राहरू ब्यूँझिएर
ओछ्यान कटाउनु परेको बिहानीमा
सूर्योदयलाई छेके झैँ गर्छन्
उडुस र उपियाँका डामहरूले ।
कुनै विदेशी भाषा मात्र बुझ्ने
कुनै एउटा शिकारी कुकुरले
केही निरीह परेवा वा हाँसका बथानमा
गरेको आक्रमणको स्वरलाई
कोइलीको आवाजझैँ सुन्न पर्ने उर्दी छ अर्कोतिर ।
मेरो परिवेशको साँचो अनुहार हो
यो दुरूहता ।
कुकुरको झम्ट्याइले मुन्टो निहुर्याउने
कुखुराको भाले
वा बिरालाको छाउरोजस्तै भइरहेछ
मेरो परिवेश ।
मेरो परिवेशको साँचो व्यहोरा हो
यो निरीहता ।
एउटा तथ्य स्पष्ट छ-
कुकुरलाई ब्वाँसो र स्यालभन्दा
पखेटा काटिएका परेवाको झुण्डमा
आक्रमण गर्न ज्यादा रमाइलो हुन्छ
र बनढाडेभन्दा
मुसा मार्न पालिएको
बिरालोको छाउरोलाई लखेट्नमा आनन्द आउँछ ।
उसै पनि
ब्वाँसो, स्याल र कुकुर
एकै धर्मका रक्षक हुन् ।
त्यसैले हुनसक्छ
कुकुरले ब्वाँसा र स्याललाई तह लगाउनभन्दा
मिलेर चल्ला समात्नमा
ज्यादा सक्रियता देखाउन थालेको छ
मेरो परिवेशमा ।