Last modified on 21 मई 2017, at 17:48

मेरो प्रेमको कथा / गोपालप्रसाद रिमाल

एउटी काली ठिटी थिइन्, बोल्नै सकिनन्
मेरो रवाफ सहनै सकिनन्।
म तिनको राजा थिएँ, तिनी मेरी हुन सकिनन्
ढोकेकी छोरी रहिछिन्, ढोकेसितै बोलिन्।
तिनी जङ्गली युगकी रहिछिन्, बर्बरता तिनको धर्म रहेछ,
म मानिसको अगिल्तिर के टिक्थिन्?

अर्की तिनीजस्तै नै बरु काली रहिछिन्
तिनले मलाई सपनामा पाइन् रे
किनभने बिपना बन्धन थियो
बिपनामा खेल मात्र थियो।
यिनले मलाई बचाइन्, सपनामा पाउनेजस्तै
तिनले चाहिंँ मार्न खोजिन्, रगत पिइन्
बिपनामा नालायक ठहरिएजस्तै।
कालीहरुको कथा आयो, गोयो।

अब गोरीहरु छुत्ती खेल्दै छन्
म पनि खेल्दै छु।
यस्तो प्रेम आखिर लीला न हो
लीलाले पनि मलाई अलमलाउन सकिनन्।

लीलासित हरदम पाचुके नै छ।
मलाई त प्रेम र क्रान्ति बराबर छ
सङ्क्रान्ति त महीनौंमहीनौं भइ नै रहेछ।
मलाई त क्रान्तिसित खेल्ने बानी छ
त्यसैले क्रान्तिले मेरो छहारी सकार्नु छ।
म त्यसैले जोडा छु, जोडा हुन्छु
क्रान्तिले मलाई नमस्कार गर्न बाँकी नै छ।
मैले त क्रान्तिलाई सलामी दिसकेंँ
क्रान्तिले मर्द भएर सलाम फर्काउन बाँकी नै छ।
म त्यसैको प्यासो छु, त्यसैको प्रेमी छु
क्रान्तिले मलाई प्रेम गर्न बाँकी नै छ।
म क्रान्तिको भोको छु
क्रान्तिले मेरो छाक टार्न बाँकी नै छ।