मेरो वसियत / बैरागी काइँला
यो कागत दिदीलाई दिए है......
यो बन्द गरेको नीलो खाम दिदैछु
यहाँ यौटा कागत छ,
कागत के छ ?
यस खामभित्र
यौटा चल्दै गरेको मुटु छ
यो कागत दिदीलाई दिए है......
यो कविता होइन ....
मैले उसको तस्वीरलाई...........
छन्दमा थुन्नु छोडिदिएँ!
यो चिट्ठी होइन,
मैले उसको मायालाई
अक्षरमा उन्नु छोडिदिएँ !
मेरो सम्पूर्ण माया
म बाँचुञ्जेल त उसलाई स्वीकार्य भएन,
अब त उसलाई जिम्मा लिनै पर्छ!
उसको माया मलाई भार भैसक्यो....
यसलाई मैले बिसाउँलै पर्छ!
यो कागत दिदीलाई दिए है....
यहाँ यस कागतमा
ऐनाको अघिल्तिर कपाल कोर्दा
उसले कल्पिएको लोग्ने....
मर्न लागेको त्यही लोग्नेको...
यौटा बाँचिरहेको इच्छा छ !
यो कागत दिदीलाई दिए है...
यहाँ मायालाई
मानिसमा भएको गुणले मात्र सिँगारेर
सँगालेर राखिएको छ !
मेरो छात्तीभरिका मायाहरू
यहाँ उसको नाममा....
कागत गरिदिएको छ !
अनि
तिम्रोतर्फबाट
यति जोडिदिनु.....
कि उसलाई भेनाजुले
सधैँ सधैँ माया गरेको छ !