मेसोपोटामियाको आकाश / अभय श्रेष्ठ
एउटा अनन्त भयदेखि
भयसम्मको बतास गुज्रिरहेछ मेसोपोटामियाको आकाशभरि
आदिम सभ्यतादेखि अहिलेसम्म
साँझहरूसँग निर्लिप्त भएर
यद्यपि पुर्वदेखि पश्चिमसम्मको घाम
फैलिएकै छ त्यहाँ पनि दर्बिलो घाम भएर ।
प्रत्येक काला साँझहरूविरूद्ध
रातो सगरको ज्वाला दन्किरहेकै छ
किनभने त्यहाँ पनि त्यतिकै भइरहेको छ जीवनको कुरा
प्रेमका कुरा
फूल र ममताको कुरा
यद्यपि बालुवा आँधीसँग उडिरहेको कालो र्सप
फैलिएर, बिस्तारित भएर डसिरहेछ घामलाई ।
रातो सागर उठाएर छातीभरि
ती जो उभिए पर्खाल भएर
भत्किए गर्ल्यामगुर्र्लुम र मारिए
एउटा निस्पन्द बतास फैलियो स्पन्द भएर
मेसोपोटामियाको आकाशभरि
रूवाझैँ उडेर, रगतको दिनको उर्दी बोकेर ।
बालुवाको आँधी भएर
खरानीको कथा भनिरहेछ सभ्यताको आदिम देशमा एउटा हावा
नर्मिएर पानीले पनि
बोकेर हिँडिरहेछ रातो सागर ।
करुणा र मानवता
पसिना र थकाइ
आगो र तेलका कुरा
अल्भिmएका छन् निस्पन्द हावामा
यद्यपि इतिहासदेखि नै चलिरहेछ त्यहाँ
सभ्यताको खरानीमा सभ्यता खोज्ने क्रम
क्रुरताभित्र पनि सभ्यता खोज्ने क्रम
रगतको टाटाभित्र पनि सभ्यता खोज्ने क्रम ।