मैले कविता लेख्न खोजेको हैन / चेन्नवीरा कान्भी / सुमन पोखरेल
कविता लेख्न खोजेको हैन यसबेला मैले
अफिस निस्किसकेँ म, खाना खाएर,, हतारहतार
बसबाट जान्छु, भेटेँ भने, नभए बिस्तारै हिँडेर।
अहिले खुकुलो भएको
आफूले लगाइरहेका कोट र पाइन्टभित्र च्याप्पिएर।
आलो दुखाइ छ, मेरो दाहिने कुर्कुच्चामा,
घाउ उहिल्यै निको भएको भए पनि ।
बिग्रिरहन्छ घरिघरि र बनाइरहनुपर्छ
मलाई बिहेमा दिएको घडी;
तर आफ्नो जादूले समातिरहन्छ मलाई
यसको संवेदनशील यन्त्रले।
बाटैबाटो हिँड्न थाल्छु जब,
भैसीँहरू, हाम्रो शहरका गौरवहरू,
ले मेरो बाटो काट्छन्, गोब्र्याउँदै, गहुँत्याउँदै,
तिनका रमाइरहेका पुच्छरहरू
हल्लिरहेछन् लगातार एउटै गतिमा ।
र वसन्त ऋतु हाँस्छ, बाटाछेउमा रुखहरूमा,
काँधमा झोलाभरिका किताब बोकेर,
चिप्लिदै साइकल, कार र स्कूटरमा,
स्कूल जाँदै गरेका
केटाकेटीको खुसी सँग मिसिएर।
अफिसमा टेबुल र कुर्सीहरू, अनि
प्रकृयाहरू, फाइलहरू, आएका पत्रका प्रतिपत्रहरू, परिपत्रहरू;
खेस्रा र टिप्पणीका थुप्राहरू, टेलिफोनमा आउने गुनासाहरू।
खुरुखुरू भइरहेको काम कर्मचारीतन्त्रको गाँठोमा अड्किएको हेर्नु,
हल्ला र स्वरहरूका माथिमाथि
टाइपराइटरको एकनाशको चाल सुन्नु
अन्त्यमा
पठाइदिनु चलानीमा, माथिदेखि तलसम्म दस्तखत गरेर
(कामलाई कसरी अधकल्चो छोड्नु?)
आइपुग्छ साँझ ।आफ्नो ढाड सोझ्याउँछु म
निस्कन्छु खुल्ला ठाउँ र उज्यालोतिर ।
उग्राउँदै घर फर्किँदै गरेका गाईहरू,
युवा काँधहरूमा
रेडियोबाट झुन्डिरहेका गीतहरू।
दाउराका भारीले थिचिएका स्त्रीहरूका निधारमा टल्किरहेका पसिना
डाँडाबाट उँधो झर्दैगरेका छायाहरू
बिर्सिन नसकिने सम्झनाहरूले तैरिँदै
मध्य आकाशमा बग्दै गरेका चराहरूका लहर।
टुँडिखेलमा त हुने नै भयो क्रिकेट ।
घरका खुड्किला उक्लँदै गर्दा हेर्छु फर्किएर,
आकाशमा मर्दै गरेको दैनिक जालोको रातोपन
भर्खर उदाएका एक जोडी मधुरा तारा
पर्तिरपट्टी गुँडमा नचटपटाई बसेका चराहरू ।
मैले चाहिँ के गरेँ त आज?
के काम गरेँ त्यस्तो ठूलो?
हिजोलाई काँधमा बोकेर
आजसम्म ल्याइपुर्याउने कहिल्यै नसकिने काम।
भोलीका चुनौतीलाई दिने उत्तर खोज्दै
घुमिरहेछौँ चक्रमा यसरी नै निरन्तर हामी ।
संसारको श्रमले छन्दमा अनुभूत गर्छ आफ्नो लयलाई ।
उब्जिएर रित्तो काव्यबाट
पुर्याउँछ बिस्तारै
मुक्तछन्दको स्वतन्त्रतामा ।