मैले चिनेको एउटा / के.भी. श्रीनिवास मूर्ति / सुमन पोखरेल
मैले चिनिराखेको एउटा
धोतीमा सजिएको छ,
र आज भर्खरै जन्मिएकाले
कट्टु लगाएको छ ।
आफ्नी आमाको गर्भबाट
जन्मिएका थिए राम त्यसबेला
आज, फेरि जन्मिएका छन् उनी
मस्जिदको कुनाबाट।
राम दिउसो जन्मिएका थिए त्यसबेला
आज चुकघोप्टे अँध्यारोमा भएको छ उनको पुनर्जन्म ।
त्यसबेला धनु र बाण थिए उनका पाखुरामा
आज, बाँसको लठ्ठी छ
उनले काखीमा च्यापेको।
त्यसबेला रामको निधारमा तीनवटा पवित्र रेखा थिए,
आज हाम्रो निधारमा केवल एउटा रेखा छ रगतको
त्यसबेला, रामले घर छोड्या थे
वनबासका लागि
आज, हाम्रो रामले
दिल्ली जानका लागि
छोडेको छ आफ्नो घर।
त्यसबेला रामको बस्ने ठाउँ
परालको छाप्रो थियो वनमा
आज, नभई नहुने बलियो इँट छ
एक करोडको।
त्यसबेला, राम
सबै प्राणीहरूलाई माया गर्थे
अहिले, छुट छैन कसैलाई!
दलित – जरूर,- .. ओ.के.।
त्यसबेला, कुभेम्पुले रोकेका थिए
शम्भुकाको हत्यालाई
आज, कोबाट
सुरक्षित हुन सक्छौँ हामी?
त्यसबेला रामले
प्रेम, स्नेह र शान्तिको सन्देश फैल्याउँथे
आज किन कोलाहल र
त्रास फैलिरहेछ?
आज हाम्रा अगाडि
भीमको संविधान छ
त्यसबेला किन
रामको विधान आवस्यक पर्यो ?
रामलाई त्यहीँ रहन दिऔँ
किन हस्तक्षेप गर्नु मान्छेले
अनि किन बेकारमा
यो कमिलेलडाँइ !