कौशल भएर फक्रिन्छन् धातुहरू
बिद्रीकलाको बासस्थानमा, जहाँ
सिन्दुरले सजाएर सिउँदोलाई
हरियो सारीमा सजिएर आफू
स्वागत गरिन्छ शीतल मधुर बतासको ।
फिँजारिएका पखेटा चलाउँदै
मनको बगैँचाभरि उड्ने
मोहकताका रङ्गिबिरङ्गी सपनाहरू।
कलरव गाउँदै
शोभायात्रामा निस्किने चराहरू;
परिवेशलाई सुगन्धमा डुबाएर
सौन्दर्यले फक्रिँदै गरेका कोपिलाहरूका बीच
परमशान्तिमा लीन
राम, रहिम र गुरु नानकहरू।
त्यसै बीच
बोलाए चट्याङलाई त्यस आश्रममा
आक्रामक नरभक्षीहरू, गोहीहरू
र धूर्त ब्वाँसाहरूले ।
त्यसपछि,
मानवीय संवेदन जलेका राता खरानीमा,
मानवताको मृत्युनाचमा
तहसनहस भइन् धर्ती;
र अझ गाढा सिन्दुरे हुँदै गयो सिन्दुरे माटो
आगो भएर उर्लियो मान्छेको क्रोध
खुल्ला इनारमा तैरिन थाले लाशहरू
र चर्किए बन्दीगृहका भित्ताहरू!
घोर अन्धकारमा बन्दी भए
उज्ज्वल जीवनहरू र
जाज्वल्यमान ताराहरू।
धमिलिँदै निन्याउरा भए घामजून ।
यस उजाड सिन्दुरे धर्तीमा, कराइरहेका
कागको कोलाहल बीच
विलाप गरिरहेछ मेरो हृदय-
अनन्तसम्मका लागि
फेरि सुन्न पाऊँ
कोइलीको गीत।