मैले लेख्न खोजेको कविता / निमेष निखिल
प्रभाती सूर्यको एक टुक्रा काटेर
माथिल्लो कुनामा राख्छु
अर्कोपट्टि कुनामा सजाउँछु–
एउटा हँसियाजस्तै सुन्दर अर्धचन्द्र
महलजस्ता झुप्राहरू बनाउँछु
सन्तुष्टिको आभाले सम्पन्न झुप्राहरू–
हरेक साँझबिहान जहाँबाट–
बादलका धर्साजस्तै धुँवाको कोलाज उठोस् आकाश छुन
घरभित्र मान्छे हुन्
मान्छेभित्र मन
मनभित्र भावना
भावनाभित्र आत्मीयताको रङरोगन होस्
र सानै भए पनि थुम्को होस् स्वाभिमानको–
एउटा अडिग थुम्को
यत्ति त हो!
यस्तै कविता लेख्न खोजिरहेछु म आजकल।
बारीको कान्लामा बकाइनुको रुख
पश्चिम ढल्केको लामो हाँगामा
सधैँभरि त्यसैगरी बसिरहून् जोडी ढुकुर
साइँलादाइ र भाउजूको दाम्पत्यजस्तै
घाँसदाउरा अनि दाउराघाँस गर्न
सधैँ बोलाइरहून् कोइलीका भाकाहरू पारि पाखाबाट
गोधूलिमा कलिला सालका पोथ्राबिच लुकामारी खेल्दै
बिदाइको हात हल्लाइरहोस् पहेँलो सूर्य
अर्को बिहान सखारै ओर्लने वाचा गर्दै
बस्तीमा दौडिरहून् नाङ्गा नानीहरू–
सभ्यताको आदिम दौड
घरभित्रको मान्छे नफेरियोस् आँगनमा निस्कँदा
उस्तै रहिरहोस् बाटो छिचोल्दै चोकसम्म पुग्दा
अनि फेरि घरसम्मै फर्कँदा
छोरीबहिनी उस्तै देखियून्– घरमा जस्तै
आत्मीयता उसैगरी आभासित भइरहोस्
घर–आँगन–बाटो–चोकहरूमा
मन–मुटु–माया–भावनाहरूमा।
चुल्ठोमा सिउरेको लालुपाते आभाले
लालिमा छाओस् मुहार, परिवार अनि गाउँबस्तीमा
गन्तव्यतर्फका अविराम/अडिग पाइलाहरू
बढिरहून्... बढिरहून्
अर्थ्याउनु नपरोस्
बुझाउनु नपरोस्
सुनाउनु नपरोस्
आफैँ अर्थियोस्
आफैँ बुझियोस्
आफैँ सुनियोस्
हो !
यस्तै कविता लेख्न खोजिरहेछु म आजकल।