भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मैले सुनें– विष पिउने रहर रहेछ / ईश्वरवल्लभ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

विष पिउने रहर रहेछ,
मैले सुनेँ तिमीले विष पिएछौ,
शायद समाप्त गर्न यो जिन्दगी र यो बैँसहरू
कुनै शून्यको खोजी
या निस्तारका लागि तिमीले गरेको अभूतपूर्व
व्यक्तिगत आयोजना

पलायन गर्ने आयोजना,
अस्मिता विलयित गर्ने परियोजना कल्पना गरेछौ,
कुनै अज्ञातलाई स्पर्श गर्ने प्रयत्न गरेछौ,

तिम्रो साथीले भन्यो – कुन्नि के गरेको होला त्यसले,
कुनै रोमाञ्च खोजेको जस्तो।

देहबाट उम्केर निर्देह हुने प्रयत्न गरेको,
बिलकुल नष्ट हुन खोजेको, जहरले,
मैले सुनेँ–
कतै विष पिउनु पनि एउटा आनन्द हुने हो कि!,
समाप्त हुने रहरको सुख पाइने हो कि!,
जिन्दगीबाट भाग्ने इच्छा, र कल्पना हो कि!

– अस्तित्वको
सायद कुनै आश्चर्यजनक इन्द्रेनीको अनुभव !
हलुका भूवा उडेको जस्तो अनुभव,
परेवाको प्वाँख,
– कर्‍याङकुरुङ्‍को ताँतीमाथि आकाशमा
शिखरहरूलाई धरातलमा हेर्दै –
धागो छिनिएको चङ्गा हुँदै,
परीहरूले समाएर क्षिेतिजमा लिएर गएको या
आकाशगङ्गाहरूका रङ्गहरूमा अल्झिँदै
कतै जाने हो कि!,
नत्र विष सार्नुको अर्थ नै के हुन्छ र ?
विना अर्थ मर्नुको अर्थ नै के हुन्छ र !
तन्तु चुँडेपछि तन्तुको के अर्थ हुन्छ र ?
धागो नभएपछि बाँधिनुको के अर्थ हुन्छ ?
जिन्दगी त्यसैले कतै बाँधिनु त हो,
नमर्नु हो
विष नखानु हो,
वेदना पिउनु हो,
सुख जिउनु हो ।
 
मरेपछि फूलको देश घुम्ने मन भएछ,
बाइफाले र नितान्त अनियन्त्रित हुन मन लागेछ
उत्रिन मन लागेछ बैँसहरूसित,
मृत्युका सुन्दरता र विभोरताहरूसित, लहसिन मन लागेछ,
बाँच्नुको विरोधमा मर्नुभन्दा ठूलो जिन्दगीलाई परास्त गर्ने कुनै युक्ति छैन,

अद्भूत परिवेशहरू
माला र मोतीहरू
रङ्ग र प्रकाशहरूको
जिउँदो मन र आकाङ्क्षाको जुलुसमा
लावा लस्करका
जात्रामा–हिँड्नुको अर्थ जिउनु हो,
तिमीले विष खाएछौ,
साथीले भन्यो विष खाएर पनि बाँच्यौँ,
तर एकछिन त मर्‍यौँ नै,
मृत्युको साक्षात्कार देख्नु र अनुभव गर्नु पनि एउटा सत्य हो

जिउँदो मन यही हो,
कहिले ढुङ्गा भएर भारी हुन्छ,
फलाम भए गह्रुँगो हुन्छ
मनै त हो पीडाले डाक्दा

आकाशका अनगिन्ति नीला टुक्राहरू
बादलका यौटा र पानीका बिन्दुहरू –
उसले मरेपछि देखेको रे,
अज्ञानताका समुद्रमा हराउने थियो – ऊ फेरि नब्यूँझेको भए,
जिससले जस्तै
बिउँझेर नै उसले भन्यो–आकाशका अनगिन्ति नीला टुक्राहरू
उसले भन्यो विषले मेरो घाँटी चहरायो मुटु दुख्यो,
सायद बेहोश भएपछि,

धूपीका पातहरू, रुखहरू र नीलो आकाशका युवाहरू
क्षेम र आकाङ्क्षाहरू,
आफैँलाई आफैँले समाप्त गर्ने उदात्त तिर्खा,
आफ्नो मृत्यु आफैँले पिउने तिर्खा !

असंवेदित निर्ममता र कठोरताहरूको विरुद्ध
अदम्य प्यास र जीवनको बुभुक्षाको विरोधाभास

के विषले छाती दुखेन ?
पक्कै चहरायो होला, ताजा घाउ,
छियाछिया भएको अनुभव भयो होला,
 
अत्यन्त पीडा भयो होला !
के विष पिउँदा तिम्रो मासु र रगत दुखेन ?

कस्तो हुन्छ,
देहभित्र मासु दुखेको पीडा !
जिउँदो मासु बिस्तारै–बिस्तारै पीडित भएको वेदना ?

आत्महत्याको आश्चर्य, कस्तो हुन्छ ?
– उसको साथीले पनि सोधेन

ऊ फेरि मौन जिन्दगी बाँचिरहेछ,
कुनै परिच्छेदको अन्त्यपछि कुनै अर्को परिच्छेद
बाँचिरहेछ ।

विष पिएर मरेपछि फेरि जिन्दगी बाँच्ने म
सायद दुईवटा विश्वयुद्धजस्तै व्यक्तिगत सहने क्रम र फेरि बाँच्ने क्रम हो।
हिरोशिमा र नागासाकीका धुवाँहरू बाँच्ने क्रम हो।

या कुनै सुन्दर मौसम
बिस्तारै–बिस्तारै बग्ने पानी र समीर
शीतल जून जुनेली, शरद र वसन्त,
गुराँस र भैँचम्पाको बन बाँच्ने क्रम हो।

जिन्दगी र मृत्युको विरोधाभासको
क्यानभास र रङ्ग बाँच्ने क्रम हो।

अभ्यन्तरमा अभ्यन्तर जहर पिएर बाँच्ने मौसम हो।
नाम सोधेको पनि हुँ,
जहर खाएर मर्न चाहने – ऊ मानिसको ।
कसैले भनेन–विषपायिनीको नाम,
त्यसैले ऊ विषपायिनी हो ।
केवल विषपायिनी !
नाम थाहा नहुनाले विषपायिनी हो,
विष पिएको हुनाले नै विषपायिनी हो,

भैगो, तिमीले जहर खाइ त सक्यौ !
त्यसैले, फेरि ।
शायद मर्नु भनेको फूलको थुङ्गा हो,
शायद कुनै बगैँचामा परेको न्यानो घाम हो।
शायद कुनै नयाँ सखार हो,
शायद कुनै साँझ हो ।
नदी र छालहरू हो!
जिन्दगीको एउटा अन्त्य हो –
एउटा महान ओझेल हो।