भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मोनालिसा र मार्च ८ / उमेश राई अकिञ्चन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

ओ ! इन्द्रेणी नायिका
सदियौ कुजिएर
एउटा फोटो फ्रेममा
कति कुरीरहन्छौ
घाम र पानीको आगमन

दिन चाहान्छु तिमीलाई
नीलो आकाशमा
उडदै गरेको चरा
तिमीले पोत्नुपर्छ मुस्कान समयको
तिमीले फर्नुपर्छ परिभाषा सौन्दर्यको
तिब्र गतिमा आएर
हुइकिएको बेपत्ता बतासले बोले जस्तो
दिन चाहन्न
उधारो उपमा
जस्तो कि
“रोपेको छु
तिम्रो आँखामा
सपनाको संसार
छोपेको छु
तिम्रो पछयौरीले
पीडाको कुरूप अनुहार
कोरेको छु
तिम्रो हत्केलामा
युग हिडने गोरेटो ”
बरु
सम्झाउन चाहान्छु म
घरको चार दिवारभित्र
किन सिमित हुन्छौ
बटुल्दैं
बगरमा टेकेका
सम्झनाका डोबहरू
किन गनेर राख्छौ
एउटा मान्छेको उमेरभरि
कत्ति पटक अस्ताउछ घाम ?
बरु
हिडनु
छिमेकी दिदी नोरासँगै
मानिसहरूको भिडमा
एकजोर स्वतन्त्र पाइला
छाम्नु
चरालेझैं
हावामा मिसिएको
स्वछन्द अनुहार ।