भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म अर्थात् पराजित वर्तमान / गीता त्रिपाठी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

कुनै दिन थियो
प्रश्नविहीन थिए तिम्रा आँखाहरू
उत्तरै-उत्तरले पूर्ण थिए मेरा ओठहरू
 
कुनै दिन थियो
अहँ थिएन तिमीसँग
मेरानिम्ति कुनै प्रश्नै थिएन
न्यानो घाममा निदाएको
बालक-शान्तिजस्तो
मैभित्र निदाउँथे मेरा उत्तरहरू
 
आज यो दिन छ
तिमी प्रश्नैप्रश्नको सूचीपत्र छौ
प्रश्नार्थक छन् तिम्रा आँखाहरू
प्रश्नार्थक छन् तिम्रा दृष्टिहरू
प्रश्नार्थक छन् तिम्रा सोचहरू
 
आज यो दिन छ
उत्तरविहीन छन् मेरा ओठहरू
उत्तरविहीन छन् मेरा आवाजहरू
उत्तरविहीन छन् मेरा अनुभूतिहरू
 
सारा प्रश्नहरूबाट आजित
सारा उत्तरहरूबाट विभाजित
दुखिरहने घाउ भएको छु म
अनन्त अँध्यारोबाट पराजित
 
मौनताका चाङहरू खोतलिरहेछ इतिहास
कोलाहलबीच सुतिरहेछ वर्तमान
मौनता र कोलाहलबीचको विन्दुमा
म अलिकति उज्यालो पर्खेर थाकेकी छु ।