भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए
लोक संगीत
कविता कोश विशेष क्यों है?
कविता कोश परिवार

म जुद्धे चिडियाखानाको बूढो काकातुवा बाँचिरहेछु / दुबसु छेत्री

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

मान्छेलाई सबैभन्दा प्यारो सायद
उसको स्वतन्त्रता हो
स्वतन्त्रता नहुनु भनेको निश्चास हो,
उनीहरूलाई मैले भनेको थिएँ
मलाई तिमीहरू जुहारत दिन्छौ
र मेरो अस्तित्व माग्छौ भने म मान्दिन
मलाई तिमीहरू सम्पत्तिहरू दिन्छौ
र मेरो स्वत्व माग्छौ भने म दिन सक्दिन
मेरा सबै थोक खोस
सम्पत्तिहरू, ऐश्वर्यहरू र सर्वस्वहरू खोस
तर मेरो 'म'लाई खोस्न पाउँदैनौ,
र, एक दिन उनीहरूले मलाई लोभ देखाए र
मेरो विचारलाई किने
मेरो स्वत्व बेचियो
र एक दिन उनीहरूले मलाई
पैसा दिए र 'म'लाई किने
मेरो अस्तित्व बेचियो
र एक दिन उनीहरूले मलाई जागिर दिलाए
र मेरो स्वतन्त्र खोसे
मेरो 'म' मबाट लुटियो,
आज जब मसँग, मेरो अस्तित्व छैन
म पखेटा काटिएको काकातुवाजस्तो देखिन्छु
आज जब मसँग मेरो स्वत्व छैन
म चुच्चो मठारिएको काकातुवाजस्तो देखिन्छु
आज जब मसँग मेरो स्वतन्त्रता छैन
म चिडियाखानाको बन्द कोठरीमा थुनिएको
काकातुवा भएको छु,
मान्छेहरू आउँछन्, जिस्क्याउँछन् र हाँस्छन्
म हाँसिरहेछु
रात पर्छ, मिर्मिरे हुन्छ र उज्यालो हुन्छ
म बसिरहेछु
कृत्रिमताको खोल ओढेको यो सहरमा
चिडियाखानाभित्र म नाचिरहेछु
म जुद्धे चिडियाखानाको बूढो काकातुवाको जीवन बाँचिरहेछु
मेरो कुनै गीत छैन
मेरो कुनै जित छैन ।

'अश्वमेध यज्ञका घोडाहरू' (कवितासंग्रह)को 'निषेधविरुद्धको युद्ध र अश्वमेध यज्ञका घोडाहरू' भागबाट