भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

म तिमीलाई खुला आकाश दिन्छु / उषा शेरचन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

आँखीझ्यालबाट हेरेर
यो सीमित संसार
अँध्यारो कुवाभित्र रुङेर
यो सानो संसार

कुँजिरहेछु म
छट्पटाईरहेछु म
निस्सासिरहेछु म

छोरी !
तिमीलाई अव
यो आँखीझ्यालबाट देखिने
सीमित संसार मात्रै हेरेर बस
कदापि भन्दिनँ म
यो सानो कुवाभित्रको
भ्याकुता मात्रै बनेर बाँच
कदापि भन्दिनँ म

लत्याउ
पर्खालभित्रका हैकमी आदेशहरू
फुकाल
बुँलाकि र कल्लीहरू
छिनाल
सदियौँदेखि
बाँधिराखेका
यी पावन्दीका दाम्लाहरू
खोल
युगौँदेखि
थुनिराखेका
यी पिँजडाका ढोकाहरू
र,
स्वतन्त्र भएर उड
उन्मुक्त भएर उड

अचानो बन्न अस्विकार गर्दै
खुकुरीको धार आफैँ बन्नू तिमी
गलत इतिहास मेटाउँदै
नयाँ इतिहास आफैँ रच्नू तिमी

सधैँभरि कुरीतिको
कालकोठरीमा
दविएर बस्न अभिशप्त
तिम्रा इच्छा र आकांक्षाका
गुलावी फूल सिउरेर

सधैँभरि समाजको
बलिबेदीमा चढ्न अभिशप्त
तिम्रा सपना र चाहनाका
इन्देणी माला पहिरेर

मैले उघार्न नसकेको क्षितिज
उघार्न जाउ तिमी
मैले हेर्न नपाएको संसार
हेर्न जाउ तिमी
मैले छुन नभ्याएको आकाश
छुन जाउ तिमी

उठ छोरी, उठ…………. ।
म तिमीलाई सुनौलोे बिहानी दिन्छु !

उड छोरी, उड………… ।
म तिमीलाई खुला आकाश दिन्छु !!

म तिमीलाई खुला आकाश दिन्छु !!!